
काठमाडौं । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले प्रधानमन्त्रीको कार्यशैली र सरकारको प्रभावकारितामाथि प्रश्न उठाएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थेबेले प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको ‘एक्लोपन’ प्रति टिप्पणी गर्दै विभिन्न जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद थेबेले सरकारले गरेका चुनावी वाचाहरू पूरा नभएको भन्दै कडा आलोचना गरे । ‘नो लाइन, ओन्ली अनलाइन’ र घरघरमै राहदानी पु¥याउने वाचा गरे पनि युवाहरू अझै मध्यरातदेखि लाइन बस्न बाध्य भएको उनले बताए । अघिल्लो सरकारले प्रिन्ट गरेर राखेको १२ लाख लाइसेन्स समेत वितरण गर्न नसकेको र दैनिक उपभोग्य वस्तु ग्यासका लागि समेत जनता लाइनमा बस्नुपर्ने अवस्था रहेको उनको तर्क छ ।
सांसद थेबेले प्रधानमन्त्रीले आफू मन्त्रिपरिषद् र सचिवालयमा एक्लो भएको आशयको फेसबुक स्टाटस लेखेको सन्दर्भ जोड्दै भने, ‘प्रधानमन्त्रीज्यू कोविरुद्ध एक्लै लडिरहनुभएको छ, त्यो उहाँलाई नै थाहा होला । तर उहाँको त्यो एक्लोपनमा साथ दिन देश र जनताका निम्ति मेरा केही शर्तहरू छन् । गत वर्ष भित्रिएको २१ खर्ब रेमिट्यान्सको एक प्रतिशत मात्रै लगानी गर्ने हो भने २१ अर्ब हुन्छ । यति रकम युवाहरूको सीप विकासमा खर्च गर्ने हो भने दक्ष जनशक्ति निर्माण गर्न सकिन्छ ।’
उनले हाल सञ्चालनमा आउन नसकेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई ‘डेडिकेटेड श्रमिक अन्तर्राष्ट्रिय विमानस्थल’ बनाउन समेत सरकारसँग माग गरे ।















