काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहितको टोली सुदूरपश्चिम भ्रमणका क्रममा एकसाथ भाइरल ज्वरोबाट ग्रसित भएको छ। सुदूरपश्चिमका विभिन्न जिल्लामा भौतिक पूर्वाधारको अवस्था निरीक्षण तथा जनताका समस्या सुन्न पुगेको टोली बैतडी पुगेका बेला अस्वस्थ बनेको हो।

नेपाल सरकारबाट निर्माणाधीन आयोजनाको अनुगमन गर्न मन्त्री लम्साल टोलीका साथ शुक्रबार सुदूरपश्चिम पुगेका थिए। शनिबार अबेर साँझ उनी आफैँ गाडी चलाएर दार्चुलाबाट बैतडी सदरमुकाम पुगेका थिए। बैतडीबाट अन्य क्षेत्र हुँदै बझाङ जाने तालिका रहेकामा स्वास्थ्यमा एक्कासी समस्या आएपछि भ्रमण प्रभावित भएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपक रायका अनुसार हिँडडुल गर्नै नसक्ने अवस्था भएपछि आइतबार दिउँसो सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उनलाई बैतडीबाट धनगढी ल्याइएको थियो। धनगढी पुर्याइएपछि मन्त्री लम्साललाई आइतबार साँझ नै नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको छ। मन्त्रीको सचिवालयका अनुसार टोलीका सदस्यहरूको स्वास्थ्य अवस्था हाल चिन्ताजनक छैन। काठमाडौं फर्किएपछि मन्त्री लम्सालले भैँसेपाटीस्थित आफ्नै क्वाटरमा आराम गर्नेछन्।












