काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिने भएका छन् । सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने लागेका हुन् ।

सरकारमा सहभागी नेकपा एमालेले ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री बानियाँ अल्पमतमा छन् । सरकार टिकाउन उनलाई अन्य साना दलहरूको समर्थन आवश्यक छ ।
बागमती प्रदेश सभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ । नेकपाको २६ सिट र एमालेको २५ सिट (उपसभामुखसहित) छ । अन्य राप्रपाको १२, नेमकिपाको तीन र हाम्रो नेपाली पार्टीको दुई सिट छ । बागमतीमा नयाँ सरकार गठनका लागि ५३ जना प्रदेश सभा सदस्यको बहुमत चाहिन्छ ।












