काठमाडौं । बागमती र लुम्बिनी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ । बागमती र लुम्बिनी प्रदेश मुख्यमन्त्रीहरूले आज विश्वासको मत लिँदै छन् ।

आज बस्ने प्रदेश सभाको बैठकमा बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिन लागेका हुन् ।
यी दुई प्रदेशका मुख्यमन्त्री बानियाँ र आचार्यले विश्वासको मत लिने तयारी गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने तटस्थ बस्ने हो ।
राप्रपाले दुवै प्रदेशका प्रदेश सभा सदस्यहरूलाई तटस्थ बस्न निर्देशन दिएको छ । प्रदेशहरूमा सरकार निर्माण सम्बन्धी विषयमा अर्को निर्णय नभएसम्म आफ्ना दलका प्रदेश सभा सदस्यहरूलाई तटस्थ बस्न संसदीय दलको नेताहरूलाई राप्रपाले निर्देशन दिएको हो ।
बागमती प्रदेश सभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ । नेकपाको २६ सिट र एमालेको २५ सिट (उपसभामुखसहित) छ । राप्रपाको १२, नेमकिपाको तीन र हाम्रो नेपाली पार्टीको दुई सिट छ । बागमतीमा नयाँ सरकार गठनका लागि ५३ जना प्रदेश सभा सदस्यको बहुमत पुर्याउनुपर्ने हुन्छ ।
लुम्बिनी प्रदेश सभामा अहिले ८३ जना मात्रै सांसद छन् । हाल कायम रहेको सदस्य सङ्ख्याको आधारमा प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । प्रदेश सभामा एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन् ।












