काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले गत साता (साउन २५ गते सोमबार) एकै दिन नेपालका लागि भारत तथा चीनका राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरे । उक्त भेटघाटपछि अन्तर्राष्ट्रिय सम्बन्धमा देखिएका केही अन्योलहरू हट्ने विश्वास गर्दै साँझ वालुवाटारस्थित निवासमा सचिवालय सदस्यहरुबीच रात्रीभोज समेत भयो ।

भारत र चीनका राजदूतलाई भेटिसकेपछि उनले कार्यबाहक अमेरिकी राजदूतसँग भेटघाट गरे । नेपालस्थित अमेरिकी दूतावास विगत आठ महिनादेखि राजदूतविहीन छ र कार्यवाहकको भरमा चलिरहेको छ । त्यसैले कार्यवाहक राजदूतलाई भेट्ने कि नयाँ राजदूतलाई पर्खिने भन्ने विषय छलफलकै क्रममा रहदा कार्यवाहकलाई भेटघाट गरे । यही समय अवधिमा प्रधानमन्त्री निवासमा ठूलै खुशीयाली छाएको थियो ।
प्रधानमन्त्री निवासमा स्वकीय सचिवालयका सदस्यहरुका लागि गरिएको रात्रीभोजमा सहभागीहरुले राजदूतसँगको भेटघाटलाई सरकारको सफलताको एउटा कडीको रुपमा लिएका थिए । रात्रीभोजमा प्रधानमन्त्रीको प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, (कुमार बेन) राजनीतिक सल्लाहकार असिम शाह
प्रधानमन्त्री बालेनका मुख्य स्वकीय सचिवमा सुवास शर्मा, यस्तै, प्रधानमन्त्रीको प्रशासन प्रमुखमा सुदीप ढकाल,बालेनले सूचना, सञ्चार तथा प्रविधि संयोजक विवेक मिश्र सहभागी थिए ।
उनीहरु बालेनको कोरटिममा पर्छन । स्वकीय सचिवालयका सदस्यले मात्र होइन, प्रधानमन्त्रीको नीजि सचिवालयमा पनि साथै रहने भएकाले गत सोमबार साँझ उनीहरुले पनि वालुवाटारमा खुशी मनाएका थिए । त्यसक्रममा प्रधामन्त्री बालेन्द्र साह पनि सहभागी भएको वालुवाटार स्रोतले जानकारी दिएको छ ।
त्यही क्रममा सचिवालय सदस्यहरुबीच केही अपशब्द समेत प्रयोग भएको थियो । सरकारी कर्मचारीहरुको व्यवहार तथा सुरक्षा अंगका प्रमुखहरुको व्यवहारलाई लिएर प्रधानमन्त्री बालेन्द्र साहसमक्ष कोहीले अनौपचारिक उजुरी पनि गरेका थिए । त्यहीक्रममा सचिवालय सदस्यहरुबीच मुखामुख र हात हालाहालको अवस्था सिर्जना भयो । तर यो घटना एक सातासम्म कतै बाहिर आएन ।
उनीहरुले यसलाई वालुवाटारस्थित निवासमा लुकाउन चाहे । ‘प्रधानमन्त्री निवासमा उनीहरुले छलफलकै क्रममा एकअर्कालाई हात हालाहाल गर्ने अवस्था सिर्जना भयो’, स्रोतले भन्यो ।
पछिल्लो पटक सचिवालयका सदस्यहरुले प्रधानमन्त्रीलाई घेराबन्दीमा राखेका छन् । राजदूत भेटाउने काम परराष्ट्र मन्त्रालयले समन्वय गरेको भएपनि प्रमुख सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहको योगदानमा कसको बढी भन्ने विषयमा विवाद हुँदै गर्दा हात हालाहालको अवस्था आइलागेको हो । दुबैलाई विवेक मिश्रले छुट्याएका थिए ।
स्रोतका अनुसार वालुवाटारको कुनामा लोकल कुखुरा पोलेर खाने ठाउँ बनाइएको छ । सचिवालयका सदस्यहरु मात्रै प्रवेश खुला गरिएको सो स्थानमा हप्ताको एक पटक शुत्रबार सधै जमघट हुने गर्छ । त्यसका अतिरिक्त गत सोमबार खुशीयाली जमघट भएको थियो ।
चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनलाई शुभकामना तथा बधाई दिन राजदूतहरूले भेट्न चाहेका थिए । तर, उनीहरूसँग सामूहिक भेटघाट गर्दै बालेनले आफ्नो कूटनीतिक यात्रा अगाडि बढाएका थिए । प्रधानमन्त्री बालेनले नेपालमा रहेका विभिन्न देशका राजदूतहरूसँग मात्र नभई विदेशबाट आउने कुनै पनि अधिकारीहरूसँग भेट्न मानिरहेका थिएनन् । तर पछिल्ला घट्नाक्रममले बालेनसँग राजदूतहरु नै टाढिएका थिए । यस्तो बेलामा भारत र चीनका राजदूतको भेटघाट हुनु सकारात्मक पक्ष भएको भन्दै सचिवालय सदस्यहरुले खुशीयाली मनाइरहँदा विवाद हुनुले बालेनलाई नमज्जा लागेको स्रोतले बताएको छ ।
बालेनले प्रोटोकल नमिलेको भन्दै उनले व्यक्तिगत वा छुट्टाछुट्टै भेटघाट पूर्ण रूपमा बन्द गरेका थिए । तर, साउन २५ गते उनले नेपालका लागि भारत र चीनका राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । चार महिनापछि प्रोटोकल तोडेर उनले राजदूतहरूसँग भेटेका हुन् । चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनले चैत २५ गते राजदूतहरूलाई सामूहिक रूपमा भेटेका थिए । त्यसपछि जेठ १२ गते नेपालस्थित युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए ।
सामूहिक भेटपछि पनि राजदूतहरूले प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेट्न चाहेका थिए, तर उनीहरूका लागि प्रधानमन्त्रीको ढोका बन्दजस्तै थियो । प्रधानमन्त्री बालेनले यसरी कसैसँग भेट्न नमानेपछि आलोचना सुरु भएको थियो भने अन्तर्राष्ट्रिय सम्बन्ध नै बिग्रिन लागेको विश्लेषण गर्न थालिएको थियो ।
प्रधानमन्त्रीले राजदूतहरूसँग भेटघाट गर्नु सामान्य कुरा भएको र नेपालको सन्दर्भमा यो चर्चाको विषय बन्नुको कारण भेटघाट नहुनु नै रहेको थियो । प्रधानमन्त्री बालेनलाई भारत, चीन, अमेरिका लगायतका देशबाट भ्रमणको निम्तो आएको छ, तर उनी कतै जान चाहिरेका छैनन ।
अमेरिकामा हुने यूएनको महासभामा भाग लिन पनि उनी तयार देखिएका छैनन् । भारत र चीन दुवैले उनलाई निम्तो पठाइसकेका छन् । विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिनका लागि पनि उनलाई निमन्त्रणाहरू आइरहेका छन्, तर उनी आफू कतै नजाने अडानमा रहेपछि अन्तर्राष्ट्रिय सम्बन्ध नै बिग्रिने अवस्थामा पुगेको छ ।
यो भेटघाटपछि भारत र चीनबाट पनि उच्चस्तरीय भ्रमणहरू हुने बताइएको छ । भारतबाट प्रधानमन्त्री बालेनलाई यसअघि नै भ्रमणको निम्तो आइसकेको छ । आगामी सेप्टेम्बरमा हुने १८औँ ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बालेनलाई निमन्त्रणा प्राप्त भएको छ । औपचारिक निमन्त्रणा पत्र बोकेर भारतका विदेशमन्त्री वा विदेश सचिव नेपाल आउने विषयमा छलफल भइरहेको छ । सम्मेलन हुन अब एक महिना मात्र बाँकी रहेकाले भारत त्यसको तयारीमा जुटेको छ ।












