काठमाडौं । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालमा राशनदेखि औषधि खरिदसम्म अनियमितता भएको भेटिएको छ । अनियमितता देखिएपछि सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा समिति गठन गरी छानबिन गरिरहेको छ ।

कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा भएको करोडौँको आर्थिक अपचलनले झस्किएको सशस्त्र प्रहरी नेतृत्वले अस्पतालमा भएको आर्थिक हिनामिनालाई लिएर गम्भीर ढंगले छानबिन गरिरहेको छ ।
अस्पतालमा भएको बदमासीमा अस्पताल प्रमुख डीआईजी डा. रूपक महर्जन, लेखा शाखा प्रमुख गणेशबहादुर मल्ललगायत जोडिएका छन् । लामो समयदेखि अस्पतालको नेतृत्वमा रहेका डा. महर्जनमाथि अस्पतालमा भएको बदमासी समयमै रोक्न पहल नगरेको पनि आरोप छ । गत चैत पहिलो साता मात्र डीआईजीको एक वर्ष कार्यकाल थप भएका महर्जनमाथि अस्पतालमा भएको बदमासी निकै महँगो साबित हुनसक्ने जनाइएको छ । अस्पतालमा एआईजीको दरबन्दी नआए आगामी चैत ५ गते उनी डीआईजीबाटै अनिवार्य अवकाशमा जानेछन् ।
स्रोतका अनुसार, सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) नारायणदत्त पौडेलले कुनै पनि प्रभावमा नपरी अस्पतालको वास्तविकता पत्ता लगाउन समितिलाई निर्देशन दिएका छन् । गुनासो आइसकेपछि त्यसको जरो पत्ता लगाउने, दोषीलाई कारबाही गर्ने र सुधारको व्यापक पहल गर्ने आइजिपी पौडेलको नीति रहेको छ ।
स्रोतका अनुसार, अस्पतालमा भर्ना भएका बिरामीको रासनमा व्यापक बदमासी भएको उजुरी सशस्त्र मुख्यालयमा परेको छ । यसैगरी, सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा केन्द्रको समन्वयमा अस्पताल परिसरभित्र सञ्चालित स–शुल्क फार्मेसीले औषधिमा दिनुपर्ने छुट नदिएको, बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारीका लागि दैनिक उपभोग्य सामान सुलभ मूल्यमा उपलब्ध गराउनका लागि सञ्चालन गरिएको सुपथ मूल्य पसलमा व्यापक कैफियत रहेको, यसैगरी पूर्व सशस्त्र प्रहरीका एसपीले सञ्चालन गर्दै आएको क्यान्टिनका खानेकुरा अत्यन्तै महँगो भएको उजुरी पनि सशस्त्र प्रहरी मुख्यालयमा परेको छ ।
यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालसँग २०८० साल कात्तिक २४ गते नेपाल एपीएफ अस्पताल र नाम्सबीच चिकित्सा शिक्षासम्बन्धी शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालनको लागि सम्झौता भएकोमा विज्ञापनबिना नै आफ्ना निकटलाई नर्समा करार नियुक्ति दिएको विषयमा पनि उजुरी परेको जनाइएको छ । यो वर्षदेखि नर्सिङ कक्षा सञ्चालन भइसकेको छ ।
सशस्त्र प्रहरीको सो अस्पताल केही वर्षदेखि तीन सय शय्यामा विस्तार भएको छ । सशस्त्र प्रहरीमा कार्यरत बहालवाला तथा पूर्वकर्मचारी तथा उनीहरूका परिवार र सर्वसाधारण नागरिकहरूको सेवा सुविधाको लागि एपीएफ अस्पतालले तीन सय शय्यासहितको सेवा विस्तार गरेको हो । तर, हरेक दिन ३ सय बिरामी भर्ना नभएपनि ३ सय शय्याबराबरको रासनको रकम असुल्ने काम भएको भन्दै उजुरी परेको जनाइएको छ ।
बिरामीको स्वास्थ्य अवस्थाअनुसार खाना खुवाउनुपर्ने भएपनि सबैलाई एउटै प्रकारको खाना खुवाउने गरिएको छ । जस्तै, सुगरका बिरामी, अप्रेसन गरेका बिरामीलाई फरक फरक खाना खुवाउनुपर्नेमा एउटै प्रकारको खाना खुवाउने गरिएको छ । स्रोतका अनुसार, ७ प्रकारको खाना खुवाउनुपर्ने जिम्मेवारी अस्पताल व्यवस्थापनलाई दिइएको छ । सशस्त्र प्रहरी मूख्यालयले यी सबै विषयमा सुक्ष्म ढंगले छानवीन गरिरहेको छ ।












