
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार मन्त्रीहरूको सेवा–सुविधा र विलासितामा मात्रै केन्द्रित भएको भन्दै आलोचना गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस प्रमुख सचेतक वासना थापाले दुर्गमका जनताले सामान्य सिटामोल र उपचार नपाएको तर मन्त्रीहरू बिरामी पर्दा राज्यको लाखौँ रकम खर्च गरेर हेलिकप्टर चार्टर गरिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन् ।
उनले भनिन्, ‘जनताले राहत पाउँदैनन्, सिटामोल पाउँदैनन्, सुत्केरीले समयमा अस्पताल पाउँदैनन् । तर काठमाडौँको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा खानपान पचाउन नसकेर बिरामी भएपछि लाखौँ खर्च गरेर हेलिकप्टरमा काठमाडौँ ल्याइन्छ ।’
उनले प्रधानमन्त्रीले मन्त्रीलाई काठमाडौँ ल्याउन ३०–३५ लाख खर्च गर्न सक्ने तर जनतालाई ३ लाखको राहत दिन नसक्ने भन्दै आक्रोश पोखिन् । बिहान–बेलुकाको छाक टार्न कठिन भएका नागरिकलाई राज्यले एक सिलिन्डर ग्यास समेत दिन नसकेको अवस्थामा सरकारले गर्ने सुशासनको कुरा खोक्रो भएको उनले दाबी गरिन् ।
मन्त्री र सामान्य नागरिकको जीवनको मूल्य बराबर हुनुपर्नेमा जोड दिँदै थापाले प्रश्न गरिन्, ‘मन्त्रीको जीवन जति मूल्यवान् छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान् छ । प्रधानमन्त्रीका लागि हेलिकप्टर पुग्ने तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने ? के यही हो जनताको सरकार ?’












