
इलाम । माईखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन् । इलाम नगरपालिका–८ र १० जोड्ने काइलाटारमा उक्त पुल निर्माण गर्न रु ८४ लाख ७१ हजार ४६० खर्च भएको छ ।
आर्थिक वर्ष २०८२÷०८३ मा कोशी प्रदेश सरकारको लगानीमा १७९ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई आवतजावत गर्न सहज भएको छ ।
पूर्वाधार विकास कार्यालय, इलामका प्रमुख रञ्जय सिंहले तिल्केनी–सिलपुर सडकअन्तर्गत पर्ने काइलाटारमा पुल निर्माण भएपछि यहाँका स्थानीय खुसी भएको जानकारी दिए ।
पुल निर्माण भएसँगै राजदुवाली र सिमलगोलाईको बाटो घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता हटेको स्थानीयले बताएका छन् ।
इलाम नगरपालिका–८ का सन्तोष गोलेले माईखोला वारिका बस्तीबाट पारि जान र पारिका बस्तीबाट वारि आउन झोलुङ्गे पुलले ठूलो सहयोग पुगेको बताए ।
‘हिउँदयाममा त खोला तरेर वारिपारि गर्न सहज नै हुन्थ्यो । तर वर्षायाममा त्यही नजिकै जान पनि कि त राजदुवाली, कि त सिमलगोलाईको बाटो घण्टौँ समयको घुमेर जानुपर्दथ्यो’, उनले भने, ‘अब त्यो समस्याबाट मुक्त भएका छौँ ।’
झोलुङ्गे पुल बनेपछि त्यस क्षेत्रमा घुमघाम गर्न, टिकटक बनाउन र तस्बिर खिचाउन आउने मानिसको सङ्ख्या बढ्दै जान थालेको उनले बताए ।
मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि मोटरसाइकलमार्फत इलामतर्फबाट झापा जान र झापाबाट इलामतर्फ आउन सोही पुलको प्रयोग गर्न थालिएको इलाम नगरपालिका–८ का वडाअध्यक्ष दलमान तामाङले बताए ।
‘अहिले यही बाटो भएर दैनिक सयौँको सङ्ख्यामा मोटरसाइकल चल्न थालेका छन्’, वडाध्यक्ष तामाङले भने, ‘इलाम–राजदुवाली सडक बन्द रहेकाले सदरमुकामबाट मेची राजमार्ग जोड्ने सबैभन्दा छोटो दूरीको सडक यही भएकाले दुईचक्के सवारीका लागि यो सडक उपयुक्त विकल्प बनेको छ ।’
तिल्केनी–सिमलगोलाईको बाटो लामो दूरीको भएकाले दुईचक्के सवारीसाधनलाई सो सडक वैकल्पिक सडको रुपमा प्रयोगमा आएको उनको भनाइ छ ।
उक्त सडक मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–८ तिल्केनीबाट छुट्टिएर इलाम नगरपालिका–१० गोदकस्थित सिलपुरमा जोडिन्छ ।












