
काठमाडौं । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले छानबिन सकेर प्रतिवेदन सरकारलाई बुझाएको छ ।
देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा साउन १० मा भएको झडपको असर मधेस प्रदेशमा पनि फैलिएको थियो ।
कप्तानगञ्जमा भएको झडपमा ३ जनाको मृत्यु भएको थियो । सुनसरीमा प्रहरीले चलाएको गोली लागेर कप्तानगञ्जका ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रवीन्द्र मेहताले ज्यान गुमाएका थिए ।
त्यस्तै सिरहाको गोलबजारमा साउन १४ मा भएको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । सरकारले छुट्टाछुट्टै समिति गठन गरेर ती घटनाबारे स्थलगत अध्ययन र छानबिन गरेको थियो ।
दुवै समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको हो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले दुईवटा समितिबाट छानबिन प्रतिवेदन आएको र उक्त प्रतिवेदन अध्ययनको क्रममा रहेको बताए ।












