
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिएको भन्दै जसपा नेपालले आफ्ना सांसद सन्तोष पाण्डेयलाई स्पष्टीकरण सोधेको छ ।
पार्टीको निर्देशन विपरीत लुम्बिनी प्रदेश सरकारमा एमाले नेतृत्वको सरकारको पक्षमा मतदान गरेको भन्दै जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले पत्र पठाउँदै प्रदेशसभा सदस्य पाण्डेयसँग स्पष्टीकरण मागेको हुन् । पार्टीको निर्णय, नीति तथा निर्देशन विपरीत मतदान गरेको भन्दै त्यसको कारण स्पष्ट पार्न स्पष्टीकरण पत्रमा भनिएको छ ।
पार्टीले लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुअघि नै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तथा विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई निर्देशन दिएको थियो । तर, पार्टीको उक्त निर्देशन विपरीत पाण्डेयले प्रदेश सरकारको पक्षमा मतदान गरेको देखिएको भन्दै जसपा नेपालले स्पष्टीकरण मागेको हो ।
पार्टीले पठाएको पत्रमा बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्देशनसहित पत्र पठाइएको उल्लेख छ । तर, उक्त निर्देशन विपरीत प्रदेश सरकारको पक्षमा मतदान गरेको देखिएकाले पार्टी नीति, निर्णय तथा निर्देशनको उल्लङ्घन भएको विषयमा स्पष्टीकरण पेस गर्न भनिएको छ ।












