
काठमाडौं । भारतका सेना प्रमुख धीरज सेठले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन् । आइतबार काठमाडौं आइपुगेका सेठले आज सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका हुन् ।
भ्रमणका क्रममा उनले कलेजका विभिन्न गतिविधिबारे जानकारी लिनुका साथै कमाण्ड तथा स्टाफ तालिममा सहभागी शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गरेका थिए ।
मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकासमा महत्त्वपूर्ण मानिने उक्त तालिममा हाल १० जना विदेशी र ८२ जना नेपाली गरी ९२ जना शिक्षार्थी अधिकृत सहभागी छन्।
२०४९ पुस १४ गते स्थापना भएको सैनिक कमाण्ड तथा स्टाफ कलेजबाट हालसम्म नेपाली सेनाका १ हजार ३०८, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरी बलका २९, राष्ट्रिय अनुसन्धान विभागका २० तथा रक्षा मन्त्रालयका एक गरी १ हजार ३७२ जना नेपाली अधिकृत प्रशिक्षित भइसकेका छन्।
त्यस्तै, विभिन्न मित्रराष्ट्रका १३२ जना अधिकृतले समेत उक्त कलेजबाट तालिम लिइसकेका छन् । कलेजबाट हालसम्म नेपाली तथा विदेशी गरी कुल १ हजार ५०७ जना शिक्षार्थी अधिकृत प्रशिक्षित भइसकेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।












