Logo
Logo

निर्धारित समयमै महाधिवेशन सम्पन्न हुन्छ : गगन


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विधान, संविधान र अदालतको आदेशानुसार तोकिएकै समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

मंगलवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समयको चापलाई मध्यनजर गर्दै कार्यतालिकाअनुसार अघि बढ्न निर्देशन दिए । सभापति थापाले पार्टी अहिले संवैधानिक व्यवस्था, विधान र अदालतको फैसलाले बाँधिएको उल्लेख गरे । यसपटक क्रियाशील सदस्यताको विवरण डिजिटलाइज्ड भएकाले विगतको तुलनामा केही सहज हुने अपेक्षा राख्दै उनले प्रक्रियामा कुनैपनि प्रकारको अनियमितता वा पूर्वाग्रह हुन नहुनेमा सचेत गराए ।

महाधिवेशनको औपचारिक प्रक्रिया प्रारम्भ भएको जानकारी दिँदै उनले निर्वाचन समितिले तय गरेको कार्यतालिकालाई पूर्ण रूपमा पालना गरिने स्पष्ट पारे । केन्द्रिय कार्यसमितिले असोज १६ गतेको अन्तिम मिति र स्थान तय गरिसकेकाले सोही मितिलाई आधार मानेर जिल्ला तथा अन्य तहका अधिवेशनहरू सञ्चालन गर्न उनले आग्रह गरे ।

उनले भने, ‘अदालतले असोज १६ गतेलाई महाधिवेशनको अन्तिम आधार मानेको छ । त्यसैले हामीसँग अब समयको सुविधा छैन । हामीले अत्यन्तै छोटो अवधिभित्र सबै प्रक्रिया टुङ्ग्याउनुपर्ने चुनौती छ । अधिवेशनको प्रक्रिया टुङ्गिँदै गर्दा कुनै पनि प्रश्न नउठ्ने गरी निष्पक्ष र पारदर्शी ढङ्गले काम सम्पन्न गर्नुपर्नेछ ।’

सभापति थापाले जिल्ला तहमा हुने अधिवेशनमा कानून व्यवसायी, शिक्षक, प्राध्यापक लगायतका विभिन्न पेशाकर्मीहरूलाई समेत सहभागी गराई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । विधानमा रहेका नयाँ व्यवस्थाहरू, निर्वाचन निर्देशिका र नियमहरूका बारेमा स्पष्ट भएर अघि बढ्दा भविष्यमा आउन सक्ने कानूनी जटिलताहरू कम हुने उनको भनाइ छ । उनले निर्वाचन समितिलाई आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न आग्रह गर्दै सबै पक्षले यस प्रक्रियामा अपनत्व महशुस गर्ने वातावरण निर्माण गरिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्