
एजेन्सी । जाम्बियाको राष्ट्रपतिमा हाकाइन्डे हिचिलेमा पुनः निर्वाचित भएका छन् । जाम्बियाको निर्वाचन आयोग (ईसीजेड) ले मंगलबार बिहान आधिकारिक नतिजा सार्वजनिक गर्दै हिचिलेमा विजयी भएको घोषणा गरेको हो ।
आयोगका अध्यक्ष म्वाङ्गाला जालुमिसले राजधानी लुसाकास्थित राष्ट्रिय निर्वाचन परिणाम केन्द्रबाट सत्तारुढ ‘युनाइटेड पार्टी फर नेशनल डेभलपमेन्ट’ का उम्मेदवार हिचिलेमा निर्वाचित भएको घोषणा गरे । निर्वाचन आयोगको तथ्याङ्कअनुसार हिचिलेमाले २९ लाखभन्दा बढी सदर मत प्राप्त गरेका छन् । यो कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी हो ।
जाम्बियाको संवैधानिक प्रावधानअनुसार राष्ट्रपति पदमा विजयी हुनका लागि कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने हुन्छ । हिचिलेमाले स्पष्ट बहुमत प्राप्त गरेसँगै अब दोस्रो चरणको निर्वाचन (रन–अफ) आवश्यक नपर्ने भएको छ ।
गत बिहीवार सम्पन्न मतदानका केही निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी रहे पनि त्यसले समग्र परिणाममा कुनै फेरबदल नल्याउने आयोगले स्पष्ट पारेको छ ।
मतदानका क्रममा केही केन्द्रहरूमा कर्मचारीमाथि भएको हिंसात्मक आक्रमण र मतपत्र चोरीका घटनाका कारण शुक्रवार मतगणना कार्य केही समयका लागि स्थगित गरिएको थियो । सुरक्षा स्थिति नियन्त्रणमा आएपछि पुनः मतगणना सुचारु गरिएको थियो । हिचिलेमा यसअघि सन् २०२१ को अगस्टमा भएको निर्वाचनमा भारी मतका साथ विजयी हुँदै पहिलोपटक राष्ट्रपति चयन भएका थिए ।












