Logo
Logo
सम्पादकीय

संविधान कुल्चन पाइन्नँ


441
Shares

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको कांग्रेसको संस्थापन इतरपक्षको राष्ट्रिय सम्मेलनले सनातन धर्मलाई राष्ट्रको पहिचानको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त ग¥यो । गत २९–३१ मा काठमाडौँमा भएको राष्ट्रिय सम्मेलनमा कांग्रेस इतरपक्षले गरेको सो प्रतिबद्धताले राजनीतिक वृत्तमा धेरैखाले आशंका उत्पन्न गराएका छन् । कांग्रेस इतरपक्षको सनातन धर्मलाई राष्ट्रको पहिचानको रुपमा अघि बढाउने प्रतिबद्धता भनेको ‘हिन्दू राज्य’को पक्षमा उभिनु हो । लिखित प्रतिबद्धतासँगै पूर्वप्रधानमन्त्री देउवाले सम्मेलन समापनका क्रममा आफू हिन्दू भएको असान्दर्भिक अभिव्यक्ति दिएसँगै यो समूहले आफ्नो ओरालो लागेको राजनीतिलाई टिकाउने अस्त्रको रुपमा हिन्दू राष्ट्रको कार्ड खेलेको बुझ्न असहज छैन ।

गत पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित भएसँगै उनी नेतृत्वको सिंगो केन्द्रीय कार्यसमितिलाई अवैध मान्दै देउवा नेतृत्वका इतर समूह सर्वोच्च अदालतमा मुद्दा लिएर पुगेको थियो । थापाले आधिकारिकता पाए पनि मुद्दाको पुनरावलोकनमा गएका कारण सर्वोच्चबाट अन्तिम सुनुवाइको प्रतिक्षामा रहेका छन् । पार्टी सत्ता र राज्यसत्ताबाट विमुख भएको इतर समूह आम राजनीतिक वृत्तमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मुद्दा बलियो बनेर आएसँगै किनाराकृत हुने अवस्थामा पुगेको छ । आफ्नो राजनीतिमा शाख जोगाउन देउवाले ‘धर्म निरपेक्ष’को ठाउँमा ‘हिन्दू राज्य’ ल्याउने मुद्दा बोकेका हुन् । जुन आफैँले विगतमा हिँडेर आएको बाटोको विपरीत छ ।

स्वाभाविक रुपमा धर्म निरपेक्षभित्र धार्मिक स्वतन्त्रता छ । हिन्दू राज्य घोषणा गरेर अन्य धर्मलाई उनीहरुको अधिकारका रुपमा नभई केवल स्वतन्त्रता दिएको रुपमा कांग्रेस इतर समूह पश्चगामी बाटोमा हिँड्न खोजेको देखिन्छ । देउवा स्वयं सार्वजनिक रुपमा लामो र चर्को भाषण गर्दैनन् । कसैको प्रत्युत्तर पनि उनी दिँदैनन् । तर सम्मेलन समापनमा कोही कार्यकर्ताले प्रश्न सोधेको हवला दिँदै ‘म हिन्दू हुँ, हिन्दू हुँ, हिन्दू हुँ । मैले हिन्दू धर्म मान्छु भन्न पाउनुपर्छ र पाउँछु । आफ्नो धर्मका बारेमा बोल्न म स्वतन्त्र छु’ भन्ने जुन गैरजिम्मेवार अभिव्यक्ति दिए, त्यसले देउवा कांग्रेसभित्रै विवाद उत्पन्न गरेको छ । जुन आजको संविधान र विगतको राजनीतिक आन्दोलनको म्यान्डेडविपरीत रहेको छ । कांग्रेसले नै महामानव घोषणा गरेको, जननायक भनिने कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको आदर्शविपरीत समेत रहेको छ ।

संविधानको धारा ३ मा नेपाल ‘राष्ट्र’को परिभाषाले नेपालमा बहुजाति, बहुभाषा, बहुधर्म र बहुसंस्कृतिको सर्वस्वीकार्यता दिएको छ । ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भनिएको छ । त्यसैगरी, नेपालको संविधानको धारा ४ मा ‘नेपाल राज्य’का बारेमा परिभाषा गरिएको छ । धारा ४ को उपधारा १ मा ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो’ भनिएको छ । सोही उपधारामा धर्मनिरपेक्षबारे स्पष्टीकरणसमेत राखिएको छ । जहाँ, ‘यस धाराको प्रयोजनको लागि धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ’ भनी उल्लेख गरिएको छ । संविधानले दिएको यो अधिकारलाई पछाडि फर्काउने एजेन्डा पाँचपटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा नेतृत्वको समूहले बोक्नु दुर्भाग्यपूर्ण छ ।

त्यसो त, कुनै राजनीतिक दलले एजेन्डा अघि सार्न साथ संविधानले प्रदान गरेको अधिकार कटौती भइहाल्ने होइन । संविधान संशोधनमार्फत विधिवत् रुपमा गर्ने कुरा हो । नयाँ संविधान जारी भएको दश वर्ष पूरा भइसकेको छ । यसको संशोधनको लागि विगतदेखि नै राजनीतिक एजेन्डा बनाइएको हो र वर्तमान वालेन्द्र साह नेतृत्वको सरकारले पनि संविधान संशोधनको विषयलाई प्रमुख एजेन्डाकै रुपमा लिएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा गठित संविधान संशोधनका लागि बहसपत्र तयार पार्ने कार्यदलले आफ्नो प्रतिवेदन पेस गरिसकेको छ । यहाँ, के सन्दर्भ उल्लेख गर्नु आवश्यक छ भने उक्त कार्यदलले बहसपत्र तयार पार्ने सन्दर्भमा विभिन्न क्षेत्रका विज्ञ, सरोकारवालादेखि आम नागरिकसम्म गरेर २८ वटाभन्दा बढी समूहसँग छलफल गरेको थियो । कतिपय संविधानविद्, कानुनविद्हरुले सामान्य प्राविधिक विषयबाहेक यस्ता महत्वपूर्ण विषयमा संविधान संशोधन गर्ने अधिकार प्रतिनिधिसभालाई नहुनेसम्मको धारणा राखे ।

देशमा विभिन्न समयमा उठेका आन्दोलन, सरकारले आन्दोलनरत पक्षसँग गरेको सहमति, तत्कालीन समयमा संसद् बाहिर र भित्र रहेका राजनीतिक दलहरुको साझा सहमतिमा ल्याइएको संविधान भएकाले संविधान संशोधनमा संसदको अंकगणितबाट मात्र होइन आम रुपमा राजनीतिक सहमति खोज्नुपर्ने कतिपयको सुझाव थियो । यसको अर्थ संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्ष, समावेशी÷समानुपातिक प्रतिनिधित्वलगायतको विषय भनेको राजनीतिक आन्दोलनबाट स्थापित सर्वस्वीकार्य विषय भएको संविधानविद्हरुको भनाइ थियो । संविधानका अपरिवर्तनशील आधारभूत कुराहरुको विपरीत जानेगरी नेपालको सबैभन्दा पुरानो र अनुभवी राजनीतिक दलका नेताले एजेन्डा बोक्नुले भोलि राजनीतिक दुर्घटना निम्तिने बाटो नखन्ला भन्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्