
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नदी तटीय क्षेत्रको भौतिक पूर्वाधारमा ठुलो क्षति पुगेको छ । सडक विभागले दिएको पछिल्लो जानकारी अनुसार बाढी र पहिरोका कारण रसुवादेखि त्रिशूली नदी कोरिडोर र आसपासका क्षेत्रमा रहेका कम्तीमा १९ वटा पुलहरू क्षतिग्रस्त भएका छन् ।
यसका साथै बाढीले सो क्षेत्रका विभिन्न खण्डमा गरी कम्तीमा ४० किलोमिटर सडक पूर्ण वा आंशिक रूपमा भत्काउनुका साथै बगाएको छ । यो ठुलो क्षतिका कारण त्यस क्षेत्रको यातायात आवागमन पूर्ण रूपमा ठप्प हुन पुगेको छ ।
सडक सञ्जाल अवरुद्ध भएपछि तत्काल बन्द बाटो खुलाउन र बिग्रेका संरचनाहरूको अस्थायी मर्मतका लागि सडक विभागले सक्रियता देखाएको छ ।
विभागले क्षतिग्रस्त सडक र पुल भएका स्थानहरूमा पहिरो पन्छाउन र सडक खुलाउनका लागि ठुला तथा हेभी मेसिनरी उपकरणहरू तीव्र रूपमा परिचालन गरेको छ । प्रभावित क्षेत्रका विभिन्न संवेदनशील स्थानहरूमा प्राविधिक टोलीसहित आवश्यक मेसिनहरू तैनाथ गरी काम सुरु गरिएको विभागले जनाएको छ ।














