Logo
Logo

‘बाँदर आतङ्क रोक्न जनतालाई भरुवा बन्दुक राख्ने अधिकार दिऊँ’


0
Shares

गत २१ फागुनको प्रतिनिधि सभा निर्वाचनमा पुराना राजनीतिक दलहरूलाई चक्मा दिँदै नयाँ राजनीतिक दलहरू संसदीय राजनीतिमा उदाए । चुनाव अघि मात्रै दल दर्ता गरेर होमिएको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ७ सिटसहित राष्ट्रिय दलको रूपमा स्थापित भयो । अध्यक्ष साम्पाङ र उनका दलबाट निर्वाचित सांसदहरू चर्चा र विवादको घेरामा समेत परिरहन्छन् र जनपक्षिय मुद्दाहरू समेत उत्तिकै उठाइरहेका छन् ।

नयाँ राजनीतिक दलको उदय, उनीहरूको स्थायित्व, दिगोपना र श्रम संस्कृति पार्टीले निर्माण गर्न खोजेको देश र राजनीतिक संस्कृति र दलको एजेन्डा लगायतको विषयमा दृष्टिका लागि हिरेन्द्र शाहीले श्रम संस्कृतिका नेता तथा प्रतिनिधि सभा सदस्य ध्रुवराज राईसँग गरेको कुराकानीको सम्पादि अंशः

श्रम संस्कृति पार्टीलाई भुँइमान्छेहरुको पार्टीको रूपमा परिभाषित गर्ने गर्नुभएको छ, तपाईहरुको पार्टी भुइँमान्छेको हो भनेर कसरी बुझ्ने ?
हामी धनीमानी वर्गको भन्दापनि विकास गर्ने श्रमिक, पसिना बगाउने कामदारको र श्रममार्फत् यो देशलाई बचाउनेहरुको पक्षमा छौँ । पिछडिएको क्षेत्र र वर्गको भुँइमान्छेहरुको आवाज बुलन्द गर्छौ भनेर दाबा गरिहरेका छौँ । यसमा चुकेका पनि छैनौँ । तस्करहरूसँग साँठगाँठ गर्दैनौँ । भ्रष्टाचारको पूर्ण रूपमा विरोध गर्छौ । यो देश निर्माण हुन्छ भने श्रमबाट मात्र हुन्छ भनेर विश्वास गरेर हर्क साम्पाङको ‘हर्कवाद’ लाई विश्वव्यापी बनाउन विभिन्न अभ्यास गरिरहेका छौँ । छोटो अवधिमै हामी राष्ट्रिय पार्टी बन्न सफल भयौँ । धेरै बुद्धिजीवीले समेत हर्क साम्पाङ मात्रै यस्तो मान्छे हो जो भुइँको आवाज बोल्छ, देशको बारेमा सोच्छ र देशको बारेमै छलफल गर्छ भनिरहनुभएको छ । जसले हजारौँ हजार मानिसहरूको भावनाको कदर गरेर अघि बढ्छ भनेर भन्नेहरू पनि छन् ।

हर्कवाद भनेको कस्तो वाद हो ?
मेरो आफ्नो पृष्ठभूमि नेपाली कम्युनिस्ट आन्दोलनको हो । त्यहाँ धेरै विज्ञ प्रशिक्षकहरूबाट प्रशिक्षित भएर म हिँडिरहँदा कम्युनिज्म् नै विश्वलाई ‘ह्यान्डीलिङ’ गर्ने विचार हो, जसले विश्वव्यापी रूपमा सबै मान्छेहरूको समान हैसियत बनाउँछ भन्ने कोणको बुझाइ थियो । त्यही विश्वाससाथ अघि बढिरहे । तर विगतमा एकाध बाहेक म लागेको पार्टीका प्रत्येक नेताहरू भ्रष्टाचारमा जोडिएका छन् । त्यो खोक्रो सिद्धान्त बोकेर हामीजस्तो इमानदार मान्छेहरू कतिदिन बाँच्ने ? भन्ने भएपछि हर्क साम्पाङ एउटा इमानदार, भ्रष्टाचार विरोधी, भ्रष्टाचार नगर्ने, श्रमदानबाट ऐतिहासिक पार्क, धरानमा पानीको समस्या समाधान गर्ने लगायतका काम गर्ने नेताको पछि लागिएको हो । उहाँप्रति मानिसहरूको विश्वास पनि छ । उहाँ प्रधानमन्त्री भएमा हामी धेरैभन्दा धेरै मानिसलाई श्रमदानमा समेट्छौँ ।

वकासको मोडल पनि फरक भएर जान्छ । हिजो उपभोक्ता समितिमार्फत् काम हुँदा कमिसन खुवाउनुपर्ने हुन्थ्यो । अब जनताको संलग्नतामा काम गर्नुपर्छ । अध्यक्ष साम्पाङले म ऋण बिना देश चलाउँछु भन्नुभएको छ । हप्तामा एक, दुई दिन प्रत्येक नेपालीले देशको लागि श्रम गर्ने वातावरण बन्यो भने कल्पना गरौँ त, कति विकास हुन्छ होला ? करिब तिन करोडको जनसङ्ख्यामा करिब एक करोड मानिसले हात चलाएमा कति काम हुन्छ होला ? श्रमदानमा सबै मानिसहरू जोडिनु आवश्यक छ । देश निर्माण गर्नुमा संस्कृति, प्रकृति र प्रविधिको मिश्रण रहेको हर्कवाद आवश्यक छ । प्रविधिलाई जोड्दै, प्रकृतिसँग विज्ञानसम्मत रूपमा अगाडि बढ्न हामीले सबैलाई आव्हान गरिरहेका छौँ । भ्रष्टाचारको विरुद्धमा हर्क साम्पाङ उभिएको हुनाले र म आफ पनि पहिलो कार्यकाल गाउँपालिका अध्यक्षको रूपमा चलाउँदै गर्दा भ्रष्टाचार नगरेको हुनाले म स्वयं पनि त्यो पार्टीमा गएको हुँ ।

पुराना राजनीतिक दलहरूले वर्गीय मुद्दा अथवा भुँइमान्छेका मुद्दा बिर्सिए जस्तो लाग्छ कि ती पार्टीहरू सुशासनमा चुके भन्ने लाग्छ ?
हिजो चप्पल लगाएर आएका जनताका छोराछोरीहरू नेता बने । तर सत्तामा पुगेपछि उनीहरू भ्रष्ट भए । वैधानिक रूपमा तलब भत्ता मात्रै लिने हो भने एक जना मान्छेको पनि यहाँ घर हुँदैन । प्रधानमन्त्री, पार्टी अध्यक्ष बन्नेले पार्टी कार्यकर्ता, जनता, भेटघाटमा देश, विदेश जानुपर्छ । सांसदले पनि गाउँ आउजाउ गरिरहनु पर्छ । आफ्नो तलब भत्ताले साथीभाइसँग बसेर चिया खानु, सामान्य खानपिन र भाडा तिर्न बाहेक अरू गर्न सकिँदैनन् । त्यसो हुँदा, घर कहाँ बाट आयो ? महँगी र आयस्रोतको तुलना हेरौँ न, धेरै टाढा हुन्छ । जब सम्मान पाइरहेको छ भने घुस नखाँदा के हुन्थ्यो ? त्यसैकारण पुराना दलहरूलाई जनताले छोडेकै हुन् । विगतमा कांग्रेस, एमाले छोडेर नेपाली जनताले दश वर्षे जनयुद्धबाट आएको माओवादीलाई भोट हालेकै हो । उसले पनि सरकार लामो समय टिकाउन सकेन । फुटेर टुक्रा टुक्रा भयो । भ्रष्टाचारमा लिप्त भयो । नयाँमा रास्वपाले एकखालको माहोल ल्याउन सक्यो । अबको प्रतिस्पर्धा भनेको हामी र रास्वपाको हो । आगामी प्रदेश र स्थानीय निर्वाचनमा हामीबिचको प्रतिस्पर्धा हुन्छ । तयारी पुगेको भए, ६ महिनाजति समय भएको भए हामीले कति सिट ल्याउँथ्यौ होला ? अध्यक्षले राम्ररी अध्ययन नगरी उम्मेदवार बनाउनुप¥यो । त्यसकारण मात्र हामी थोरै सिटमा सीमित भयौँ । पुराना नेताहरूको भ्रष्ट आचरण र प्रणाली सुधारमा समेत ध्यान नदिएका कारण यस्तो अवस्था आइपुगेको हो ।

सरकारको कामकारबाही हेर्दा नयाँ राजनीतिक शक्तिहरूको उदय चिरस्थायी हुनसक्छ भन्ने लाग्छ यहाँलाई ?
म राजनीति शास्त्रको विद्यार्थी भएको नाताले के भन्छु भने नैराश्यताको बिचबाट आज रास्वपाले यो श्रेष्ठता हासिल गरेको छ । सरकारमा उहाँहरूको गतिविधि हेर्दा उहाँहरूले हिजोको भन्दा राम्रो गर्नुभएको छ । उदाहरणका लागि, बजेट बन्ने बेलामा सिंहदरबारको चउरभरी बिचौलियाहरूको हाटबजार, मेला लागेजस्तो हुने प्रचलन यसपटक अन्त्य भयो । यो सकारात्मक कुरा हो । आशाका साथ जनताले विश्वास गरेर आज रास्वपालाई यो ठाउँमा पुर्याएका छन्, पाँच वर्ष टिकोस् । हामी पूर्ण रूपमा असली प्रतिपक्ष भएर राम्रो कुराको समर्थन र नराम्रो कुराको खबरदारी गरेर अघि बढ्छौँ । रास्वपा नेता, सांसदहरू नै सरकारसँग चिढिने अवस्था देखिएको छ । यदि त्यसो हो भने नेपाली जनताले जुन आशा, सपनाका साथ भोट दिएको छ, नेपालीको भाग्य, भविष्य नै अन्धकारतिर जानसक्छ । त्यसर्थ रास्वपा गतिशील ढंगबाट अगाडि बढोस् भन्ने सल्लाह, सुझाव दिन्छु ।

हर्कवादको जग प्रकृति, संस्कृति र प्रविधि हो भन्नुभएको छ । यही वादको आधारमा नयाँ नेपाल निर्माण गर्न खोजेको हो ?
अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, बजेट सरकारसँग होस् भन्न चाहन्छौँ । बिचौलियाहरूले कब्जा हानेको छ । एक महिनाको अवधिमा ५०÷६० जना मानिस मसँग चन्दा माग्ने र बिरामी हारगुहार गर्ने मानिस छन् । किनभने हाम्रो प्रणाली राम्रो भएन । सरकारीमा साधनस्रोत नहुने । आइसियु, भेन्टिलेटर थप्नुप¥यो नि हरेक वर्ष । हामी एउटा प्रणालीमा देशलाई हिँडाउँछौ । सबै मानिसको अभिलेख हामी राख्छौँ । वर्षमा एक दिन बैंकिङ डे मनाऔँ । सबैले आफ्नो सम्पत्ति बैंकमा राखौँ । १२ घण्टा सबैले आफ्नो पैसा अनिवार्य रूपमा बैंकमा राखौँ । हामीले बनाउन खोजेको देश भ्रष्टाचारमुक्त हो ।

त्यसो हो भने सरकारको भूमिका बढाउने नीति हो तपाईँहरूको ?
सही ढंगले हिँड्यो भने हामीले सुख पाउँछौँ नि । तेलको भाउ घट्यो भने, चामलको भाउ घट्यो भने जनता सुखी हुने हो । घरजग्गा लगायत सबैको भाउ सरकारको नियन्त्रणमा हुनुप¥यो । कामको सम्मान हुनुप¥यो । जनतालाई सुख दिनका लागि यहाँले भनेजस्तै सरकारको भूमिका बढाउनुप¥यो भन्ने पनि हो ।

नेपालमा सबै प्रकारका काम गर्नेहरूलाई हेर्ने दृष्टिकोण राम्रो बन्न सकेको छैन नि ?
एउटा रेस्टुरेन्टमा काम गर्नेले २०÷२५ हजार पाउँछ । अधिकृतले ५० हजार पाउँला । दुवैले छोराछोरी पढाउँछन् । घरपरिवार चलाउन, भाडा तिर्न कहिले धान्दैन नि । आफ्नो हैसियत अनुसारको सेवा, सुविधा दिने गरी सरकारको योजना बन्दै जाने हो भने त्यो सम्भावना छ । किसानले ८५ रुपैयाँमा पठाएको तरकारी यहाँ हामी १५० रुपैयाँमा खान्छौँ । बिचौलिया नियन्त्रण छैन । बिचौलियाका कारण अर्थतन्त्र सरकारको मातहतभन्दा बाहिर छ । भ्रष्टाचारको कुरा गर्दा अख्तियारकै मान्छेहरू नै धेरै धन, सम्पत्ति भएकाहरू छन् । वकिलले वकालतबाट जति भने पनि पैसा लिन पाउने हुन्छ र ? सबै कुरालाई करको दायरमा ल्याउनुपर्छ । जकडिएर बसेको चिज फाल्न धेरै मेहनत गर्नुपर्ने छ । त्यसका निम्ति नै हामी आएका हौँ ।

विगत १०/१५ वर्षको अवधीमा धेरै रुपान्तरणहरु भएका छन् नि होइन र ?
विगतमा केही भएन म भन्दिनँ तर जेजति हुनुपथ्र्यो त्यो नभएको हो । आज औद्योगिक कलकारखाना एउटा पनि चलेका छैनन् । जति गरेपनि सिस्टममा देश नहिँडेपछि गरिब, गरिब नै भइरहने अवस्था छ । ठेकेदारहरू काम छोडेर भागेको अवस्था छ । जेजति भयो, परिवर्तन भयो । धेरै ठाउँमा विद्युत् पुगे तर धेरै ठाउँ अँध्यारै पनि छन् । उत्पादनमा बिचौलिया हाबी भए । विश्वास भयो भने वैदेशिक रोजगारीमा रहेकाहरूले देशमा लगानी गर्न तयार हुन्छन् । तर सरकारले ग्यारेन्टी गर्न सक्दैन । बिचौलियाले बैंकबाट ऋण लिन्छ र केही गर्छ । कमाउने उनीहरूले नै हो । सबै पुराना दलहरूले देश खरानी नै बनाए भन्ने पनि होइन । सिस्टममा नचलेको भए पनि धेरै विकास त भएको थियो । सिस्टममा चलेको भए धेरै राम्रो हुन्थ्यो । शिक्षा, स्वास्थ्यमा निजीकरण भयो । छोराछोरी पढाउन भ्रष्टाचार गर्नुपर्ने अवस्थाका कारण पुरानाहरू असफल भए ।

बाँदर नियन्त्रणको विषयमा तपाईँले संसद्मा राखेको विचार आलोचित भयो । खास यो प्रकरण के हो ?
केही वर्ष अघि बाँदरको आतंक यत्तिको थिएन । दश वर्षे युद्धका बेलमा धेरैका वैध बन्दुकहरू पनि प्रशासनले तान्यो । माओवादीका लडाकुले लगे । हतियार विहीन भएपछि बाँदरलाई छेउछाउमा बस्ने मानिसहरूले मार्न पाएनन् । यसकारण बाँदरको सङ्ख्या धेरै छ । गाउँमै बास बस्छ । किसानको बालीनाली नष्ट गर्छ । त्यसकारण बाँदरलाई मार्न पाउने कानुन निर्माण गरौँ भनेको हो । सम्भव हुन्छ भने जनतालाई भरुवा बन्दुक राख्ने अधिकार दिऊँ जसले कर पनि तिर्छ भनेर कुरा उठाएका हौँ । जनावर प्रेमीहरू कहाँ कहाँ बस्छन् मलाई थाहा छैन । मकै बारीमा त हुँदैनन्, अलैँची बारीमा हुँदैनन् । जहाँ बाँदरले अन्नबाली सखाप पारेको हुन्छ । जब हाम्रा मान्छेहरूले आफ्नो गाउँ सुरक्षित गरेर बस्दैनन् भने देश कसरी सुरक्षित हुन्छ ? दिनदिनै युवाहरू पलायन हुनुपर्ने । ९०÷९५ वर्षका बाबुआमा बाँदर रुँघेर बस्नुपर्ने अवस्था छ । यस्तै अवस्था रहने हो भने बाँदरले मानिसलाई डाइनोसर बनाइदिन्छन् । जनताको सरोकारको विषय मैले उठाउने गरेको हुँ । कानुन बनेन भने भोजपुरमा हाम्रो अर्को वर्षदेखि बाँदर खेद्ने अभियान हुन्छ ।

श्रम संस्कृति पार्टीलाई साम्प्रदायिक खालको पार्टी हो । पूर्वी भेगका राई, लिम्बुहरूको पार्टी हो भन्ने आरोप लाग्ने गरेको छ ?
सामाजिक सञ्जाल फितलो रूपमा प्रस्तुत छ । राजनीतिक विश्लेषकहरू धेरै ब्राह्मण समुदायका विश्लेषकहरू छन् । उनीहरूले हर्क साम्पाङलाई साम्प्रदायिक भनेको मैले पाएको छैन । माटो सुहाउँदो, कसैलाई घात नगर्ने हुन् भनेर विद्वानहरूले भनेका छन् । जसले सिमानामा घेराबारा लगाऊँ, सिमाना मिचामिच कति गर्नु भनेर भनिरहेको छ, त्यो वैज्ञानिक तर्क हो । कार्यान्वयनका लागि भारत सरकारसँग छलफल गरौँ । नेपाल भारत सिमाना नै चाहिँ खुल्ला राखेर आफ्नै देश जस्तो किन गर्नु ? हामी नेपाली हौँ उहाँहरू भारतीय हो । हाम्रो मित्रता छदैछँ । राष्ट्रियता हाम्रो आ–आफ्नो छ ।

हर्क साम्पाङ राष्ट्रभक्त भएको हुनाले धेरै मान्छेहरूले विश्वास गरेका छन् तर कोही मान्छेहरूलाई लाग्छ, उसले पूर्वतिरको राई मात्रै लिएको छ । हेर्दा खेरी कमिटीमा पनि त्यस्तै, त्यस्तै देखियो । किनभने छोटो समयमा दर्ता भएको पार्टी हो नि त । अध्यक्षले जो जो भेट्नुभयो तिनैलाई लिएर पार्टी दर्ता गर्नुभयो । म पनि पार्टी दर्ता भइसकेपछि पुगेको हो । अधिवेशनसम्म कुरौँ, यदि त्यसपछि पनि त्यस्तै भयो भने आरोप लगाउनु होला । हामीले अरू जातजातिका पनि राखेका छौँ । संसद्मा पनि जनजाति, मधेसी, दलित र खस आर्यबाट राखेका छौँ । क्षेत्र पनि मिलाएका छौँ । जसले आरोप लगाएको छ त्यो अध्ययनसाथ विश्लेषकहरूले लगाएको आरोप होइन ।

अर्को विषय, हर्क साम्पाङ किराँत धर्म मान्नुहुन्छ । जसले तिन चुलालाई पुज्छ । न बौद्ध, न हिन्दू न किराँत मान्नुहुन्छ । तर अरुअरु धर्मलाई सद्भाव हुने कुरा त भैगयो । मेयर हुँदा हिन्दु धर्मावलम्बीका मन्दिरमा बजेट छुट्याएको छ, अरू ठाउँमा पनि छुट्याइएको छ । के कति गर्नुभयो हेर्दा हुन्छ नि ।

नेपाल भारतको खुल्ला सीमाको कुरा आउँदा नेपाल भारतका प्रधानसेनापतिलाई अपसामा मानार्थ प्रधानसेनापति दिने चलन छ, यसलाई कसरी बुझ्नुहुन्छ ?
यो हिजोका शासकहरूले हजुरीका लागि गरेका हुन् । यसका विषयमा म टीकाटिप्पणी गर्दिनँ । यसलाई परिवर्तन गर्दा राम्रो हुन्थ्यो ।

कतिपय भूराजनीतिक विश्लेषकहरूले नेपालको पछिल्लो राजनीतिक परिवर्तनमा कतिपय शक्ति राष्ट्रहरूको चासो छ भन्छन् । रास्वपा र श्रम संस्कृति पार्टीहरू भूराजनीतिको बाइप्रडक्ट हो भन्ने तरिकाले पनि व्याख्या विश्लेषण हुने गरेको छ नि ?
रास्वपा के हो मलाई थाहा छैन । हाम्रो पार्टी विल्कुल देशको लागि हो । भुँइमान्छेहरु जो गरिब, दुःखी छन् । सबै मिलेर यो देशलाई नाङ्गो बनाए भन्ने निष्कर्षमा पुगेका जनताहरू छन् उहाँहरू हामीसँग जोडिनुस् हामी धोका दिँदैनौँ । रास्वपा कसले बढायो, हिँडायो भन्ने कुरा हेर्दै जाँदा देखिने कुरा हुन् । उहाँहरूलाई टिओबि, दलाई लामासँग जोडिएका कुराहरू हेर्दा कतैबाट सञ्चालित हो कि भन्ने खालको होला । तर हाम्रो जस्तो राष्ट्रले कुनै पनि राष्ट्रलाई गिज्याउने, होच्याउने भन्दापनि हामीले उहाँहरूको मन जितेर अघि बढ्नु आवश्यक छ । राष्ट्रियताको विषयमा हामी स्पष्ट छौँ । कसैलाई नचिढ्याउने र कसैको हजुरी पनि नगर्ने कुरामा हामी विश्वास मान्छौँ ।

निर्वाचन अघिको प्रचार, निर्वाचन पछि कोही पनि विदेश जानुपर्दैन । गएका पनि फर्किन्छन् भन्ने थियो । पछिल्लो पाँच महिनामा जुन रुपले देश अगाडि बढेको छ, यसले देश ठिक बाटोमा जाँदै छ कि छैन ? सरकारको कतिपय कार्यशैलीले गर्दा कतै यो सरकार निरङ्कुशता उन्मुख त छैन भन्ने प्रश्न छन् नि ?
हाम्रो पार्टीले श्रम संस्कृति, प्रकृति र प्रविधि भन्नुको तात्पर्य नै विज्ञानका कुराहरू पनि नेपालबाटै उत्पादन हुनुप¥यो भनेको हो । गाडी, मोटरसाइकल उत्पादनमा सरकारले लगानी गर्नुप¥यो । किसानको उत्पादनले बजार नपाउने अवस्था छ । त्यो वातावरण हटाउनुप¥यो । सुलभ ढंगले सबै चिज प्राप्त हुन सक्नुप¥यो । हामी त्यो बनाउँछौ भनेर लागेका छौँ । अहिलेको नयाँ सरकारले अव्यवस्थित बस्ती उठायो तर व्यवस्थापन गर्न नसकेर आलोचित छ । विदेशबाट मान्छे फर्काउँछौँ भनेर रास्वपा सभापति रवि लामिछानेले भनेका कुराहरू अहिले पनि ट्रोल बनिरहेको छ । तर त्यो भन्दा धेरै मानिसहरूले देश छोडिरहेका छन् । यसलाई रोक्ने अवस्था म देख्दिनँ । अर्थतन्त्र अर्काले चलाएको छ । सरकारमा बसेर मात्रै के गर्ने ? जग्गाको मूल्य दलालको हातमा छ । यस्तै अरू क्षेत्रमा पनि छ । सबै व्यक्तिको अभिलेख राखेर को सँग कति सम्पत्ति छ सरकारले थाहा पाउनुप¥यो । आफ्नै प्रतिबद्धता र जनताको अपेक्षा अनुरूप सरकारले काम गर्न नसकेकै हो । देश बनाउन श्रम संस्कृति पार्टीलाई जिम्मा दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्