Logo
Logo

रसुवा बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए


0
Shares

काठमाडौं । तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएका छन् । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म ती शव भेटिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बेलुकी ६ बजेसम्म विभिन्न ठाउँमा ती शव भेटिएका हुन् । सुरक्षा निकायले नदी तटीय क्षेत्रमा बगेर आएका शवहरू निकाल्ने काम गरिरहेको छ ।

बाढी नारायणगढसम्म आइपुग्दै गर्दा पानीको बहाव खतरा तहमा पुगेको छैन । प्रजिअ अर्यालका अनुसार चितवन यो बाढीका कारण जोखिममा परेको छैन । आमनागरिकलाई नदीमा सामान तान्न नजान आग्रह गर्दै उनले शवहरू देखिएमा खबर गर्न आग्रह गरेका छन् ।

नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख इन्जिनियर सुमित अधिकारीका अनुसार देवघाटमा रहेको नारायणी नदीमा बहाव घट्न थालेको छ । यहाँ ९ मिटर कटेपछि खतरा मानिन्छ । ६।८० मिटर पानीको सतह पुगेर घट्न शुरू भएको उनले जानकारी दिए । अब नदीको सतह घट्न थालेकाले खतरा टरेको उनको भनाइ छ ।

बाढीको जोखिमका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा दिउँसैदेखि गाडी आवागमन रोकिएको छ । पोखरातर्फ जाने गाडीलाई पठाउन शुरू गरिएको छ । पृथ्वी राजमार्गको धादिङमा सडक अवरुद्ध भएकाले त्यसतर्फ जाने गाडी रोकिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले बताए ।

नारायणी नदीमा बाढी आउन सक्ने भन्दै आज दिउँसो नदी आसपासका विद्यालय बन्द गरिएका थिए । नदी तटीय क्षेत्रमा सुरक्षा निकायले माइकिङ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्