काठमाडौं । अप्रत्याशित रूपमा भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका सात विद्यालयमा क्षति पुगेको छ । तीमध्ये छ वटा विद्यालय रसुवाका हुन् ।

रसुवाको गोसाईकुण्ड गाउँपालिकामा सर्वाधिक क्षति भएको छ । गोसाईकुण्ड गाउँपालिकाको टिमुरेस्थित टिमुरे सामुदायिक विद्यालयको भवन ठूलो क्षतिग्रस्त भएको छ । त्यस्तै, उत्तरगया गाउँपालिकास्थित उत्तरगया विद्यालयमा पनि क्षति पुगेको छ । उक्त विद्यालयका विद्यार्थीहरू भागेर ज्यान बचाउन सफल भएका छन् ।
नुवाकोटको विदुर नगरपालिका-५ स्थित त्रिभुवन त्रिशूल माध्यमिक विद्यालय भौतिक रूपमा व्यापक क्षतिग्रस्त भएको छ । विद्यालयमा हिलो र लेदो पसेको छ भने बाढीले बगाएर ल्याएका सामग्रीले परिसर भरिएको छ । रसुवाको टिमुरेमा रहेका दुई बोर्डिङ स्कुल र दुई सामुदायिक विद्यालयमा पनि क्षति पुगेको छ । ती विद्यालयको नाम अझै खुल्न बाँकी छ । प्रारम्भिक विवरणअनुसार बाढीले ती चार विद्यालय बगाएको जनाइएको छ ।















