Logo
Logo

रसुवा विपत्तिमा बीवाईडीको समवेदना- ‘हामी नेपालीसँगै छौँ’


0
Shares

काठमाडौं । रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति बीवाईडी ग्रुपले गहिरो दुःख व्यक्त गरेको छ। बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक तथा बीवाईडी ग्रुपका उपाध्यक्ष लिउ स्युएलियाङले सन्देश जारी गर्दै विपत्तिको यस घडीमा बीवाईडी नेपाल र नेपाली जनतासँगै रहेको बताएका छन् ।

‘नेपालसँगै, नेपालको लागि’ शीर्षकमा जारी सन्देशमा लिउले रसुवा नेपाल र चीनलाई जोड्ने महत्वपूर्ण सीमावर्ती क्षेत्र रहेको उल्लेख गरेका छन्। बीवाईडीका विद्युतीय सवारीसाधन नेपाल प्रवेश गर्ने महत्वपूर्ण मार्गसमेत रसुवासँग जोडिएको भन्दै उनले बाढीबाट प्रभावित परिवार, समुदाय र जीविकाप्रति चिन्ता व्यक्त गरेका छन् ।

उनले बाढीबाट प्रभावित प्रत्येक परिवारप्रति समवेदना व्यक्त गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मी, सरकारी निकाय, स्वयंसेवक तथा स्थानीय समुदायको प्रयासको प्रशंसा गरेका छन् ।

बीवाईडी नेपालसँग जोडिएका ग्राहक, सवारीधनी, कर्मचारी, विक्रेता, व्यावसायिक साझेदार तथा अन्य सबैलाई सुरक्षित रहन आग्रह गर्दै प्रभावित क्षेत्रमा रहेका व्यक्तिहरूलाई स्थानीय प्रशासनको निर्देशन पालना गर्न र आवश्यक सावधानी अपनाउन पनि उनले आग्रह गरेका छन् ।

यसैबीच, बीवाईडीका लजिस्टिक्स साझेदार सुङखरी लजिस्टिक्स प्रालिका कर्मचारीहरू पनि बाढी प्रभावित क्षेत्रमा रहेको जनाइएको छ। उनीहरूसँग हालसम्म सम्पर्क स्थापित हुन नसकेको भन्दै लिउले उनीहरूको सुरक्षा र सकुशलताको कामना गरेका छन्। ‘हामी उनीहरूसँग, उनीहरूका परिवारसँग र आफ्ना प्रियजनको खबरको प्रतीक्षामा रहेका सबैसँग छौँ,’ सन्देशमा भनिएको छ।

बीवाईडी ग्रुपको तर्फबाट नेपाली जनताप्रति ऐक्यबद्धता जनाउँदै लिउले प्रभावित समुदायको शीघ्र उद्धार, पुनःस्थापना र पुनर्निर्माणको काम अघि बढोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

विपत्तिको समयमा नेपाली जनताले देखाउँदै आएको एकता, साहस र मानवीयताको प्रशंसा गर्दै उनले सामूहिक प्रयासबाट नेपालले यो कठिन समय पार गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्