Logo
Logo

मान्छे बगेको बाढीमा लुटको मेलाः लाशको सुन लुछ्ने, ज्यानभन्दा ठूलो बन्यो सिलिन्डर ! (भिडियोसहित)


0
Shares

काठमाडौं । बुधबार चीनको तिब्बत क्षेत्रबाट एक्कासी आएको बाढीले देशमा महाविपत्ति निम्त्याएको छ । घर बगेका छन्, सडक बगेका छन्, पुल बगेका छन्, व्यवसाय बगेका छन् । कतिपयका त परिवार नै बगेको छ । अस्पतालमा शव राख्ने ठाउँ छैन । कुन शव कसको हो भनेर पहिचान गर्नसमेत सकिएको छैन । आफन्तको खोजीमा मानिसहरू भौँतारिरहेका छन् । सयौँ परिवारलाई आफ्ना मान्छे जिउँदा छन् कि छैनन् भन्ने समेत थाहा छैन । उद्धारकर्मीहरू आफ्नै ज्यान जोखिममा राखेर पानी, हिलो र भग्नावशेषसँग जुधिरहेका छन् ।

चारैतिर चीत्कार छ । आँसु छ, छटपटी छ । शोक छ । तर, यही महाविपत्तिको बीचमा हाम्रो समाजको अर्को डरलाग्दो चित्र पनि देखिएको छ । कसैका लागि यो विपत्ति जीवन बचाउने दौड बनेको छ, त कसैका लागि लुट्ने, टिप्ने र कमाउने मौका बनेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न जनतालाई अपिल ग¥यो । सरकारले सहयोगका लागि क्यूआर कोडसमेत सार्वजनिक गरेको छ । सरकारको आग्रहसँगै सर्वसाधारणले आफ्नो क्षमताअनुसार सहयोग गर्न थालेका छन् । कसैले खाना पठाइरहेका छन्, कसैले कपडा । कसैले आफ्नो दिनभरको कमाइबाट केही रकम छुट्याएका छन् । कोही खोजी कार्यमा जुटेका छन् । मान्छेहरु पार्टी, जात, धर्मभन्दा माथि उठेका छन् । अर्थात्, दुःखमा अर्को मान्छेको आँसु पुछ्न खोज्ने मान्छेहरू अझै यो समाजमा छन् । तर प्रश्न यहीँनेर हो– सबैमा त्यो संवेदना बाँकी छ त ?

मानवताको यो सुन्दर तस्बिरको अर्को पाटो भने यति कुरूप देखियो कि सम्झिँदा पनि मान्छे हुनुमा धिक्कार लाग्छ । एकातिर सर्वसाधारण आफ्नो गाँस काटेर पीडितलाई बचाउन खोजिरहेका छन्, अर्कोतिर केही संवेदनाहीन मानिसहरू बाढीको बगरमै आफ्नो स्वार्थको लुटधन्दा चलाइरहेका छन् ।

कोही आफ्नो ज्यानकै बाजी लगाएर बग्दै गरेको ग्यास सिलिन्डर समात्न तँछाडमछाड गरिरहेका छन् । कोही बाढीले बगाएर ल्याएका दाउरा तान्न व्यस्त छन् । कतिपयलाई त बाढीमा माछा मार्न भ्याइनभ्याई छ । अब प्रश्न उठ्छ– मान्छेको ज्यानभन्दा एउटा ग्यास सिलिन्डर ठूलो भयो ? मान्छेको जीवनभन्दा केही किलो माछा महत्वपूर्ण भयो ? घरबार गुमाएको परिवारको आँसुभन्दा बाढीले बगाएर ल्याएको दाउरा मूल्यवान भयो ? आखिर यो कस्तो समाज बन्दैछ हाम्रो ? हाम्रै आँखाअगाडि मान्छे बगिरहेका छन्, परिवार छुट्टिएका छन्, घरबार तहसनहस भएको छ । तर, हामी भने कसले के भेट्टायो, कसले के समात्यो भन्नेतिर दौडिरहेका छौँ । अरूको विपत्तिमा सहयोगी हात बन्नुपर्ने बेला कतिपय हात लुट्नतिर बढिरहेका छन् ।

अझ अचम्म र पीडा त्यतिबेला हुन्छ, जब मान्छे खोज्नुपर्ने नदीमा माछा खोजिँदैछ । मान्छे बगेको खोलामा मान्छे जत्रो माछा निकालेर रमाइरहेका छन् । घर बगेको नदीबाट दाउरा तानिँदैछ । परिवारका सदस्य हराइरहेका बेला कसैको ध्यान बाढीले बगाएर ल्याएको सामानमा छ । योभन्दा पनि निकृष्ट काम त मृत शरीरबाट सुनका गरगहना निकाल्ने काम भएको छ ।
यसले हाम्रो संवेदना कहाँ पुगिसकेको छ भनेर देखाइदिएको छ । प्रश्न यति मात्रै हो— हाम्रा लागि मान्छेको ज्यानभन्दा सामान ठूलो भइसकेको हो ?

कल्पना गरौँ त, त्यो शव कसैको बुबा हुन सक्छ । कसैकी आमा हुन सक्छ । कसैको दाजुभाइ, दिदीबहिनी वा जीवनसाथी हुन सक्छ । उता घरमा परिवारका मान्छे अझै पनि ‘फोन आउला कि, भेटिएला कि’ भनेर बाटो हेरिरहेका होलान् । तर, त्यही परिवारको मान्छेको शवबाट कसैले गहना निकालेर आफ्नो खल्ती भर्छ भने, त्यो चोरी मात्रै होइन, मानवीयता नै मरेको प्रमाण हो ।

मर्दाको घाउमा मलम लगाउनु त परै जाओस्, लाशमाथि गिद्धझैँ झम्टिएर गहना लुट्ने यस्तो सोच कहाँबाट आउँछ ? अरूको दुःखमा हात थाम्नुपर्ने बेला कसैको मृत शरीरबाट समेत फाइदा उठाउने लोभ कसरी जाग्छ ? लाशबाट सुन चोरेर ल्याएको पैसाले केही दिन पेट भरिएला । घरमा केही सामान पनि थपिएला । तर, मन कसरी बुझाउलान् ? राति ओछ्यानमा पल्टिँदा त्यही मृत मान्छेको अनुहार आँखाअगाडि आउँदा निद्रा कसरी पर्ला ?

मानवता लिलाम भएको अर्को डरलाग्दो रूप सामाजिक सञ्जालमा देखिएको छ । हातहातमा स्मार्टफोन पुगेको छ, तर विडम्बना के छ भने, कतिपयको विवेक भने मोबाइलको स्क्रिनमै हराएको छ । बाढीले मान्छे पिल्सिरहेका थिए । आफन्त गुमाएका आमाहरू बगरमा पछारिएर रोइरहेका थिए । कोही आफ्ना मान्छे खोज्दै चिच्याइरहेका थिए । कसैको घर बगेको थियो, कसैको परिवार छुटेको थियो । यस्तो दृश्य देख्दा सामान्य मान्छेको मुटु भक्कानिन्छ । तर, केहीका लागि भने त्यही पीडा पनि एउटा राम्रो ‘कन्टेन्ट’ बन्यो ।

जुन बेला उद्धारका लागि हात बढाउनुपर्ने थियो, त्यही बेला मोबाइल झिकियो । क्यामेरा अन भयो । अनि सुरु भयो अर्को दौड—कसले सबैभन्दा पहिले भिडियो खिच्ने ? कसले सबैभन्दा दर्दनाक दृश्य हाल्ने ? कसले धेरै लाइक, सेयर र भ्युज पाउने ? अनि सके डलर पनि कमाउने ?

कसैको मृत्यु, कसैको घरबार विनाश र कसैको चीत्कारलाई भ्यु र पैसाको माध्यम बनाउनु यो समयको सबैभन्दा कुरूप दृश्य हो । मान्छे पीडामा छ, तर मोबाइलको स्क्रिनमा भ्युज बढिरहेको छ । परिवार रोइरहेको छ, तर कसैको खातामा डलर थपिइरहेको छ । यस्तो दृश्यले प्रश्न गर्छ– हामीसँग प्रविधि त आयो, तर मानवता कहाँ गयो ?

हो, विपत्तिको दृश्य सार्वजनिक गर्नु गलत होइन । सूचना दिनुपर्छ । उद्धार र राहतका लागि फोटो–भिडियो निकै उपयोगी हुन सक्छन् । तर मृत शरीरको अनुहार देखाएर, असहाय पीडितको अवस्था बेचेर, परिवारको रोदनलाई तमासा बनाएर भ्युज बटुल्नु पत्रकारिता होइन । सामाजिक जिम्मेवारी त झन् हुँदै होइन । त्यो त मान्छेको पीडामाथि गरिएको व्यापार हो ।

आज बाढीमा गुमेको मान्छे अरू कसैको परिवारको सदस्य हुन् । भोलि यही नियति आफ्नै घरमा आइपर्न सक्छ । त्यसबेला आफ्नो परिवारको आँसु पनि कसैले क्यामेरा तेस्र्याएर ‘कन्टेन्ट’ बनाइदियो भने कस्तो लाग्ला ? विपत्तिको बेला मान्छेको असली परिचय उसको हातमा भएको मोबाइलले होइन, उसले अरूको दुःखमा बढाएको हातले दिन्छ ।

बुधबारको बाढीले भोटेकोशी र त्रिशुली किनारका भौतिक संरचना मात्र बगाएको छैन, हाम्रा केही मानिसको चेतना, दया र विवेक पनि बगाएर लगेको देखिन्छ । विपत्ति बाहिर मात्र आएको छैन, मान्छेको मन र सोचभित्र पनि पसेको रहेछ । जबजब देशमा संकट आउँछ, तबतब मान्छेका दुईवटा अनुहार प्रस्ट देखिन्छन् । एउटा अनुहार तिनको हो, जो आफू भोकै रहेर पनि अरूको पेट भर्न हात अगाडि बढाउँछन् । अर्को अनुहार तिनको हो, जो अरूको महाविपत्तिमा पनि आफ्नो स्वार्थको रोटी सेक्न र लाशमाथि धन्दा चलाउन पछि पर्दैनन् ।

सुरक्षाकर्मी, उद्धारकर्मी र स्थानीय स्वयंसेवकहरू रातदिन नभनी, भोक–निद्रा त्यागेर उद्धारमा जुटिरहेका छन् । उनीहरूको यही खटाइ र सर्वसाधारणको सानो–सानो सहयोगले आज देशलाई सम्हालिरहेको छ । तर बाढीमा सिलिन्डर खोस्ने, माछा मार्ने, दाउरा तान्ने, लाशबाट सुन चोर्ने र पीडाको भिडियो बनाएर डलर कमाउनेहरूले समाजमा जुन विषाक्त सन्देश फैलाएका छन्, त्यसको हिसाबकिताब कसले गर्ने ? के हामी भौतिक रूपमा विकसित हुँदै जाँदा नैतिक रूपमा यति धेरै पतन भइसकेका हौँ ? हामीलाई मान्छे भन्ने कि नभन्ने ?

अहिले उद्धारको समय हो । राहतको समय हो । हराइरहेका मानिसको खोजी गर्ने समय हो । घाइतेलाई अस्पताल पु¥याउने समय हो । भोकालाई खाना खुवाउने समय हो । छानो गुमाएकालाई ओत दिने समय हो । यो समय कसैको दुःखमा अवसर खोज्ने समय होइन ।

विपत्तिको बेला हरेक व्यक्ति उद्धारकर्मी बन्न सक्दैन । तर, मान्छे बन्न भने सक्छन् । उद्धारमा जान नसक्नेहरूले सुरक्षित ठाउँमा बसेर सही सूचना दिन सक्छन्, मानवता देखाउन सक्छन् । यो सामान्य कुरा जस्तो लाग्न सक्छ । तर विपत्तिको बेला समाज यस्तै साना निर्णयबाट चिनिन्छ । महाविपत्ति केवल सरकारको परीक्षा होइन । प्रहरी, सेना, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, स्थानीय तह र उद्धारकर्मीको मात्रै पनि परीक्षा होइन । यो हरेक नागरिकको परीक्षा हो ।

कसैले कसैको जीवन बचाउन हात बढाउँछ कि कसैको सम्पत्ति टिप्न ? कसैले घाइतेलाई अस्पताल पु¥याउँछ कि लासबाट गहना निकाल्छ ? कसैले उद्धारको सूचना दिन्छ कि पीडितको भिडियो बेचेर भ्युज कमाउँछ ? कसैले आफ्नो गाँस काटेर राहत दिन्छ कि बाढीले बगाएको सामानमा आफ्नो भाग खोज्छ ? यही प्रश्नहरूले अहिले हाम्रो समाजको वास्तविक अनुहार देखाइरहेका छन् ।

विपत्तिमा राहत चाहिन्छ, रमिता होइन । अहिले भोटेकोशीको पानी विस्तारै घट्ला । बाढीले बगाएका सडक र पुल फेरि बन्लान् । घरहरू पनि उठ्लान् । बजार फेरि चल्ला । चुलो फेरि बल्न थाल्ला । तर जसको मान्छे गयो, उसको घरमा त्यो मान्छे फर्किने छैन । त्यसैले अहिले हामीले के टिप्यौँ, के कमायौँ र कति भ्युज पायौँ भन्ने होइन, कसको ज्यान बचायौँ भन्ने कुरा महत्वपूर्ण हो । बाढीले हाम्रो खेतबारी, घर र सम्पत्ति बगाएको छ । तर, कम्तीमा हाम्रो मानवता नबगाओस् ।

प्रतिक्रिया दिनुहोस्