Logo
Logo

बालेको मुस्ताङमा यात्राः संयोग कि भूराजनीतिक खेल ?


शरद रिजाल

0
Shares


प्रधानमन्त्री बालेन्द्र साह(बालेन)आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी बाहेक अन्य सुरक्षा निकायलाई जानकारी नै नदिएर एकाएक शुक्रबार मुस्ताङ हान्निए । उनको मुस्ताङ यात्रालाई निजी भ्रमण भनिए पनि मुलुककै कार्यकारी प्रमुखको स्वदेश भ्रमणलाई विशुद्ध निजी भ्रमणका रुपमा मात्रै चित्रण गरेर जवाफदेहीताबाट पन्छिन मिल्दैन ।

प्रधानमन्त्री भएको करिब पाँच महिनापछि स्वदेश भ्रमणमा निस्किएका बालेन करिब तीन दिनमै काठमाडौं फर्किए् । उनी एकाएक मुस्ताङ भ्रमणमा किन निस्किए ? भन्ने विषय अहिले सार्वजनिक चर्चा र चासोका साथ हेरिएको छ । रास्वपाको वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेनले पार्टी र संसदीय दलको बैठक चलिरहँदा त्यसमा अनुपस्थित जनाउँदै सडकमार्गबाटै मुस्ताङतर्फ लागेका थिए ।

प्रधानमन्त्री भएको करिब पाँच महिनासम्म सार्वजनिक उपस्थितिमा अभिरुचि नदेखाएका बालेन पहिलो पटक स्वदेश भ्रमणका रुपमा मुस्ताङ निस्किएका हुन् । उनी जनमतको प्रतिनिधित्व गर्ने सार्वभौम संसदमा समेत अनुपस्थित हुँदै आएका छन् । प्रधानमन्त्री जस्तो मुलुककै कार्यकारी प्रमुखको भ्रमणलाई निजी भ्रमण भनेर दिइएको प्रष्टीकरण नै आफैंमा गैरजिम्मेवारपन हो ।

मुलुककै बागडोर सम्हालेका प्रधानमन्त्री देशभित्रै पुग्दा त्यो कसरी निजी भ्रमणमा मात्रै सीमित हुनसक्छ ? तैपनि उनको भ्रमणलाई निजी भ्रमणको रुपमा सरकारले चित्रण गर्न बाध्य हुनुको पनि रणनीतिक महत्व र कुनै खास आन्तरिक कारण नहोला भन्न सकिन्न ।

तर, स्वदेश एवं विदेशका विभिन्न कार्यक्रमका लागि अनेकौं पटक निम्तो आइरहँदा त्यहाँ जान अनिच्छुक रहेका बालेनले पहिलो पटक मुस्ताङ नै किन रोजे ? उनले मुस्ताङ पुगेर मुक्तिनाथको दर्शन गरेर फर्किएको समाचार सार्वजनिक भएको छ । मुलुकको प्रधानमन्त्री देशको जुनसुकै भूभागमा जानु अन्यथा होइन, दूरदराजमा त झनै सरकारको अनुभूति दिलाउन पुग्नु नै पर्छ ।

तथापि, उनका स्वभाव र कार्यशैली राजनीतिक र सामाजिक उपस्थिति भन्दा पनि भूमिगत शैलीमा सत्ता सञ्चालन गरिरहेको उनी प्रधानमन्त्री भएयताका घटनाक्रमबाट स्पष्ट हुन्छ । तसर्थ, उनको पहिलो आन्तरिक भ्रमण पनि विशुद्ध निजी भ्रमणको रुपमा मात्रै नभएर यो रणनीतिक रुपमा निकै अर्थपूर्ण रहेको देखिन्छ ।

मुस्ताङ जिल्ला विगतदेखि नै भौगोलिक र सामरिक रुपमा निकै संवेदनशील क्षेत्र हो । विगतमा चीन विरुद्ध खम्पा विद्रोहको तयारी त्यही क्षेत्रमै गरिएको थियो । तत्कालीन सरकारको दूरदर्शिताले त्यसलाई निस्तेज पार्दै चीन विरोधी गतिविधि नियन्त्रण गरिएको थियो । अहिले पनि त्यहाँको खनिज पदार्थ र उत्तरी सीमावर्ती क्षेत्र भएकाले मुस्ताङ जिल्ला अनेकौं कोणबाट निकै संवेदनशील र सामरिक महत्वकै क्षेत्रका रुपमा हेरिन्छ ।

यसअघि बालेन सरकारले १ रुपैयाँको नयाँ सिक्कामा नेपालको चुच्चे नक्सा हटाएर मुस्ताङकै लो घ्याकर (घार गुम्बा)को तस्बिर राख्ने निर्णय गरेको थियो । तर, यसको चौतर्फी रुपमा चर्को आलोचना भएपछि सरकार उक्त निर्णयबाट पछि हट्यो र पुरानै डिजाइनलाई निरन्तरता दिने भयो । मुस्ताङका गुम्बा संरक्षणमा अमेरिकी सहयोग भएको तथ्य यो मात्रै नयाँ होइन ।

अमेरिकी दूतावासले त्यहाँका गुम्बा पुननिर्माणका लागि सहयोग गरेको नेपालस्थित अमेरिकी दूतावासले आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक रुपमै जानकारी गराएको छ । मुस्ताङकै लोमान्थाङ क्षेत्रमा प्राकृतिक युरेनियमको उपस्थिति सम्बन्धी अध्ययनहरू भएका छन् । तर युरेनियम उत्खननका लागि नेपाल र अमेरिकाबीच सम्झौता भइसकेको भन्ने दाबीलाई नेपाल सरकारले अस्वीकार गर्दै आएको छ ।

प्रधानमन्त्री बालेन मुस्ताङ जाुनभन्दा दुईदिन अघि अमेरिकी राजदूतावासका एक उच्च पदस्थ अधिकृत पनि त्यहाँ पुगेका थिए । अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख रहेका उनी लोमान्थाङस्थित चोडे गुम्बामा अमेरिकी दूतावासको अनुदानमा स्थापित ‘मोनचोइ एन्टिक म्युजियम’ उद्घाटन गरेर लो घ्याकर (घार गुम्बा) पुगेका हुन् । त्यसकै सन्निकट बालेन त्यहाँ पुगेपछि अनेकौं कोणबाट यसलाई रणनीतिक भ्रमणको रुपमा आँकलन गर्न थालिएको छ ।

बालेनको भ्रमण अगावै त्यहाँ अमेरिकी दूतावासका उच्च अधिकृत पुग्नु र उनी पनि त्यतै हान्निनुले आशंका गर्ने प्रशस्तै आधार खडा भएको छ । यद्यपि, यसलाई संयोगजन्य परिघटनाको रुपमा शंकाको लाभ दिन दिन पनि सकिन्छ । तर, राजनीतिमा घटनाक्रम, त्यसको पृष्ठभूमि र विकसित परिघटनाले भने सपाट सम्भावित परिदृश्य प्रतिबिम्बित गर्दछ ।

नेपालको राजनीतिमा बालेनको उदय, उनको सत्तारोहण, उनका क्रियाकलाप र पछिल्ला परिघटनालाई दृष्टिगत गर्ने हो भने बालेन सरकारप्रति आशंका गर्ने प्रशस्त आधार छन् । जेनजी विद्रोहको जगबाट पुनरोदय भएको रास्वपा र बालेन सरकारको आगमन पछि नेपालको भूराजनीतिक अवस्था निकै प्रतिकूल बन्दै गएको छ ।
जेनजी विद्रोह लगत्तै निर्वासित तिब्बतियन धर्मगुरु दलाई लामाको शुभकामना सन्देश, उनको जन्मोत्सव पहिलोपटक नेपालमा मनाइनु र काठमाडौंमै तिब्बतसम्बन्धी कार्यक्रम आयोजना गर्न स्वीकृति दिनुले पनि सरकारको भूराजनीतिक स्वार्थ स्पष्ट रुपमा संकेत गरेको छ । यद्यपि, काठमाडौं विश्वविद्यालयमा आयोजित तिब्बत सम्बन्धी कार्यक्रम चौतर्फी दबाब पछि अन्तिम समयमा रोक्न सरकार बाध्य भएको थियो ।

यी यावत विकसित घटनाक्रमले बालेन सरकारको अघोषित पक्षधरता दर्शाउँछ । यसका अलावा तत्कालीन शेरबहादुर देउवा सरकारले एसपीपी सम्झौता नगर्ने निर्णय गरेपछि जेनजी विद्रोहबाट उनी राजनीति बाटै विस्थापित भए । सुरुमा नयाँ र पुराना दलप्रति आगो ओकल्ने बालेन अन्ततः त्यही रास्वपामा समाहित भएर प्रधानमन्त्री बनेका हुन् । त्यसैले अहिले उनै बालेनको पहिलो आन्तरिक भ्रमणका रुपमा तय गरिएको मुस्ताङ भूराजनीतिक कोणबाट मात्रै नभएर राजनीतिक रुपमा पनि निकै अर्थपूर्ण रहेको देखिन्छ ।

बालेनले आफूलाई आफ्नो दलभन्दा अलग रहेको सन्देश यो भ्रमणमार्फत पुनः एक पटक रास्वपा वृत्तमा जानकारी गराएका छन् । किनभने, पार्टी र संसदीय दलको बैठक बसिरहँदा उनले त्यसलाई पूर्णतया अवज्ञा गरेर मुस्ताङतर्फ लाग्नुले विगतका उनका दलीय निर्देशन विपरीतका क्रियाकलापलाई पुनर्पुष्टि गरेको छ ।

बालेनले आफ्नो शक्ति र विश्वसनीयता नेपाली सेनाप्रति मात्रै भएको यो भ्रमणबाट स्पष्टरुपमा दिएको अर्को सन्देश हो । हरेक प्रधानमन्त्रीको स्वदेश भ्रमणका क्रममा निश्चित सुरक्षा मापदण्ड हुन्छन् । उनको भ्रमण क्षेत्र पूर्व निर्धारित वा आकस्मिक भए पनि जिल्लास्थित सुरक्षा संयन्त्रलाई पूर्वजानकारी दिने विगतदेखिकै प्रचलन हो । तर यसपटक बालेनले त्यसलाई पूर्णतया नजरअन्दाज गर्दै पूर्णतः सेनाकै सुरक्षामा निर्भर रहेर सडकमार्गबाट मुस्ताङ पुगे । उनको मुस्ताङ आगमनको विषयमा त्यहाँका सुरक्षा निकायका प्रमुख पूर्णतया बेखबर थिए ।

काठमाडौंबाट नेपाली सेनाको सुरक्षामा निस्किएका उनी विश्राम समेत सेनाकै ब्यारेकमै गरेर मुस्ताङतर्फ लागेका थिए । सडक मार्गबाट मुस्ताङको यात्रा तय गरेका उनले कुनै पनि जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत अन्य सुरक्षा निकायका प्रमुखसँग समन्वय र सम्पर्क गर्न समेत आवश्यक ठानेनन् । यसले उनी सैन्य शक्तिसँग मात्रै आफ्नो निकटता रहेको स्पष्ट सन्देश दिएका छन् ।

पछिल्लो समय एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले पनि संसदबाटै वर्तमान सरकारप्रति गम्भीर आक्षेप लगाएका थिए । उनले बालेन सरकारको निर्माणमा अमेरिका, अल्गोरिदम र आर्मीको मुख्य भूमिका रहेको अभिव्यक्ति संसदबाटै दिएका थिए । उनले राजनीतिक पूर्वाग्रहप्रेरित आरोप लगाए जस्तो लागेपनि त्यसलाई विकसित घटनाको कसीमा दाजेर सिलसिलेवररुपमा आँकलन गर्ने हो आशंकाजन्य अवस्था अवश्य सिर्जना गरेको छ ।

यसअघि सामाजिक सञ्जालमार्फत राजनीतिमा प्रवेश गरेका उनले काठमाडौं महानगरको मेयरमा निर्वाचित हुँदा पनि अमुक शक्ति राष्ट्रसँग निकटता देखाउँदै आएका थिए । मेयरमा निर्वाचित भए लगत्तै तत्कालीन अमेरिकी राजदूतसँगको भेट र चीनप्रतिको अनुदारता व्यावहारिक रुपमै प्रदर्शित गर्दै आएका थिए । नेपाली चुच्चे नक्सालाई मान्यता नदिएको भन्दै चीन भ्रमण नगर्ने सार्वजनिक उद्घोषदेखि राजधानीमा आयोजित चिनियाँ कार्यक्रममा रोक लगाएका थिए ।

जेनजी विद्रोहमा पनि अघोषित रणनीतिकारका रुपमा उनले संसद विघटन गर्दै सेनासँग वार्ता गर्न आन्दोलनकारीलाई सुझाएका थिए । बालेनको महानगरमा आगमनदेखिका हरेक घटनाक्रम नियाल्ने हो भने उनको भूमिका निकै संदिग्ध र रहस्यमय देखिन्छ । झनै, जेनजी विद्रोह र फागुन २१को निर्वाचनबाट भएको उनको नाटकीय उदयले कैयौं प्रश्न सतहमा ल्याएको छ । अहिलेको मुस्ताङ भ्रमण पनि त्यसकै एक कडी नहोला भनेर भन्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्