काठमाडौं । रसुवाबाट उद्धार गरी ल्याइएका बाढी पीडितहरूलाई अस्थायी बसोबासका लागि नागार्जुनस्थित येलो गुम्बामा राखिएको छ । सुरक्षाकर्मीहरूले उद्धार गरी ल्याएका करिब दुई सय पचास जनालाई येलो गुम्बामा राख्ने व्यवस्था मिलाइएको छ ।

नागार्जुन-२ स्थित उक्त गुम्बामा हाल करिब एक सय बाढी पीडितलाई राखिएको नागार्जुन नगरपालिकाकी कार्यबाहक प्रमुख सुशिला अधिकारीले जानकारी दिएकी छन् । गुम्बाको मेडिटेसन हलमा पीडितहरूलाई राखिएको छ ।
अस्थायी बसोबासको अवस्था बुझ्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि लगायत शुक्रवार गुम्बा पुगेका थिए ।‘ व्यक्तिगत र संस्थागत सहयोग जुटिरहेको छ । हामीले स्वास्थ्य टोली खटाएका छौं,’ कार्यबाहक प्रमुख अधिकारीले भनिनन् । गुम्बामा अस्थायी बसोबासका लागि ल्याइएका बाढी पीडितहरूलाई नेपाल रेडक्रस सोसाइटीले ५० थान मण्डी र ५० थान म्याट्रेस उपलब्ध गराएको छ ।















