Logo
Logo

बैजनी सहरमा देश दुखाउने कविको कथा


छविरमण सिलवाल

189
Shares

कविता लेख्न विषयवस्तु धेरै छन्, बस् लेख्न सक्नुपर्यो, लेखेका कविताहरु समाजसँग पु¥याउनु त छदैछ । सर्जकले ध्यान दिनुपर्ने कुराचाहिँ के हो भने हामीले लेखेका कविता त्यो समाजले मनन गर्न सक्यो या सकेनन् । हामीले समाजका कुराहरु लेख्न सक्यौँ कि सकेनौँ भन्नेमा सजग हुनु अत्यन्त जरुरी ठान्छु म । समाजप्रति सजग भएर लेखिएका सिर्जनाहरु नै हाम्रा पहिचान हुन् । त्यसैले पनि एउटा कविले कविताका भिडमा आफ्नो अलग्गै पहिचान बनाउन सक्छ । यस्ता सिर्जनाले नै कवि र कवितालाई युगौँयुगसम्म जीवित राख्न सक्छ ।

मैले प्रसङ्ग जोड्न खोजेको लक्ष्मी श्रेष्ठ‘रेशमी’को कविता कृति ज्याकारान्डाको शहरको हो । उनको पहिलो कृति मै कवितामा परिपक्ता देखिन्छ । कविता लेख्नुमात्र ठूलो कुरा होइन, कवितासँगै मानवीय समवेदनाका कुराहरु जोड्न सक्नु कविको सामथ्र्य पनि हो । ज्याकारान्डाको बैजनी रङ्गले शहरलाई ढाक्दा चढ्दो उमेरसँगै कविलाई पनि लाग्छ– ‘…यो उखरर्माउलो गर्मीसँगै सम्झनाको लहरमा तैरिएर फर्केको छु तिम्रो काखमा, यदि..फर्काउन मिल्ने भए बाल्यकाल र त्यो यौवनलाई ज्याकारान्डासँगै फुल्ने थिएँ ।’

राजनीतिक चेतनाले हुने र नहुनेको दुरी वढाएको छ । हो त्यही असमान दुरीमा समानता खोज्न सर्जकहरुले सिर्जनाका माध्यम अपनाएका छन् । यहाँ बोलेरै सम्बृद्धि खोजिरहेको जमातमा कवि लक्ष्मीको फरक धारणा छ–‘सगरमाथा हाम्रो हुँदैँमा उचाइ हाम्रो कहाँ बढ्छ र ? सक्षमता र बौद्धिकताविना देश कहाँ चुलिन्छ र ? क्षमता र दक्षताविना सम्बृद्धि आउँछ र ?’ यी यस्तै प्रश्नहरु ज्याकारान्डाको शहर कृतिमा प्रशस्तै भेटिन्छन् । कतै प्रेमिल, कतै आक्रोस, कतै शासकलाई प्रश्न गर्दै, विदेशिएका पौरखीहरुको नाममा कविता कोर्छिन । वास्तवमा यी कविता भन्दा पनि हाम्रा आम भोगाईहरु हुन्, जहाँ हामी हरेक क्षण विविध कारणले आफ्नै भूगोलमा शरणार्थी भै बाचेका छौँ । कवितामार्फत शुष्म व्यङ्ग्य चेत पनि आएको देखिन्छ हेरौँ–‘ओहो ! प्रकृति, आँगन र छेपारो सोचिरहेछ, मान्छे कति निर्लज्ज स्वार्थी, कति छिट्टै रङ फेरेका बिगत सम्झेर चटक्कै बदलिँदो समयसँगै ।’

नेपाली कवितामा आफ्नो स्पष्ट पहिचान बनाई सकेकी कवि लक्ष्मी साहित्यका अन्य विधामा पनि कलम चलाउछिन् । चर्चा र भाइरल भन्दा पनि आफूलाई लेखिरहन मन पराउने लक्ष्मी सरलतामा गम्भिर सिर्जना गर्न रुचि राख्छिन् । ‘ज्याकारान्डाको शहर’ कविता कृति यसको ज्वलन्त उदाहरण हो । स्कुले जीवनबाटै साहित्यमा लागेकी लक्ष्मी अढाई दशकदेखि निरन्तर सहित्यमा समय खर्च गरिरहेकी छिन् । लक्ष्मीका कवितामा भेटिने मौलिक शैलीले कवितालाई पठनीय बनाएका छन् । उनका कविताहरुमा भावनाको तिब्रतासँगै समाजका सुष्म विषयवस्तुहरु प्रसस्तै भेटिन्छन्, यस्तै लेखनीले नै लक्ष्मीलाई नेपाली कवितामा युगौँयुगसम्म जिवन्त राख्ने क्षमता राख्छ ।

कहिलेकाहीँ लाग्छ कविहरुलाई मात्र देश दुख्ने किन होला ? जसलाई दुख्नुपर्ने हो उसलाई देश किन नदुखेको होला ? यावत प्रश्नहरुले घेर्न थाल्छ, त्यतिबेला यस्तै यस्तै कविताका हरफहरु लेखिन पुग्छन् । लेख्दालेख्दै कहिले काही कविता पीडितको आँसु बनेर बगिरहेको देखिन्छ, वर्तमानमा पीडाका चित्कार बनेर आउँछ ।

वर्तमान समयका चित्रहरु ज्याकारान्डाको शहरमा हामीले सधै नियालीरहेका हुन्छौँ । बैजनी रङ्ले शहरलाई सुन्दर बनाइरहेको बेला कुरुप राजनीतिक खेलमा मान्छेले भोग्ने पीडा कविले कवितामा पोखेकी छिन । शहर कहिले कोरोना कहरले दुख्छ, कहिले भूकम्पको कम्पनले । त्यो भन्दा पनि राजनीतिक कम्पन जनमानसले धान्नै नसक्ने कहरका विरुद्ध कविका कलमहरु तिखारिएका छन् । उनले कवितामार्फत प्रकृतिसँगको समिप्यतामा जीवनको गहिरो अर्थ खोजेकी छिन् । मान्छेलाई अह्मको घेराबाट मुक्त हुनको लागि आग्रह गरिरहेकी छिन । वास्तवमा यी कविताहरु मानवीय जीवनका गहिराईसम्म पुगेर मान्छेलाई स्वतन्त्रतापूर्वक बाँच्न सिकाउने र प्रकृतिको संरक्षण गर्न उत्प्रेरित गरिरहेका छन् ।

संसारमा धेरै भाषा बोलिन्छन्, तर मान्छेका रुने र हाँस्ने भाषा एउटै हुन्छ, दुःख र खुसी प्रस्तुत गर्ने भाषा एउटै हुन्छ । मानवीय संवेदनाका पाटाहरु एउटै हुन्छन्, त्यो महिला होस या पुरुष । पीडाका पहाडहरु उक्लनु कसैको वाध्यता हुँदैन तर वाध्यतामा पार्ने त्यहाँका शासकवर्गले गरिरहेका हुन्छन् । यसैमा सर्जकहरुको विमति हो र, कलम चलाउनु पर्ने बाध्यता पनि हो सर्जकको । अर्को कुरा नलेखे पनि हुन्छ, भन्ने प्रश्न उब्जन सक्ला ? तर एउटा चेतनशिल मान्छे कसरी चुपचाप तमासा हेर्न सक्छ दुःखका, त्यसै पनि यी कविताद्धारा प्रस्फुटन गरिएका मान्छेका आवाजहरु हुन् ।

कवितामा पाइने मुख्य विशेषताहरुमा समाजका वास्तविक समस्या र जीवनका अनुभवलाई कवितामा उतार्नु हो । सरल भाषा तर अर्थमा गहिराइ भएको शैली निर्माण गर्नु, प्रेम, पीडा, आशा, संघर्ष जस्ता मानवीय संवेदनालाई कवितामार्फत पोख्दै, जीवनशैलीको झल्को दिने कविताहरु ‘ज्याकारान्डाको शहर’मा पढ्न सकिन्छ । कवितासङ्ग्रहभित्र एकाउन्न ओटा कविताहरु रहेका छन् । समाजसँगै जोडिएका यथार्थ चित्र कवितामार्फत प्रस्तुत भएका छन् ।

कविताहरु सरल, सुन्दर र बोधगम्य छन् । भाषा र शैली पनि बेजोडकै छ । कवितामा यथार्थ र कल्पनाको धोल मिश्रित भएका छन् । अझै केही कविताहरुमा थोरै बिम्बको प्रयोग भएको भएको भए, कविता सुन्दर देखिन्थे । उनको कविता बुनोट भने बेजोडकै छ । आगामी दिन अझै उर्जावान बनोस्, शुभकामना ।

प्रतिक्रिया दिनुहोस्