
सोलो बाईक लिएर ८४ दिनमा ७७ जिल्ला घुमेर शितल गिरीले नयाँ कीर्तिमान कायम गरेकी छिन् । देशका हिमाल, पहाड र तराईका जिल्लाहरुमा यात्रा गर्दै उनले सफल राईडरको रुपमा आफूलाई स्थापित गरेकी छिन् । उनको यो यात्राले युवा पुस्तालार्ई स्वदेश बुझ्न र घुम्न पे्ररणा पनि दिएको छ ।
शितलको यो साहसलाई धैरैले प्रशंसा गरेका छन् । पछिल्लो देशभरको बाइक यात्रापछि साहसी महिलाको रुपमा उनी एक उदाहरणीय पात्र बनेकी छिन् । बाइक राइडिङमा सोख भएको बताउने उनी राम्रो कलाकार पनि हुन् । उनै शितल गिरीसँग रेजिना पाण्डेको जम्काभेटः
भर्खर ७७ जिल्ला घुमेर आउनुभयो कत्तिको थाक्नुभएको छ ?
थाकेको महसुस त थियो तर घर फर्केपछि सबै थकाइ हरायो । साथीभाइ, घरपरिवार, इष्टमित्र र पत्रकार मित्रको मायाले सबै थकाइ हराइसक्यो ।
८४ दिनमा फर्किँदा आफन्तले बाजा गाजा सहित भव्य स्वागत गरेको क्षणलाई कसरी सम्झनुहुन्छ ?
यत्तिको सम्मान पाउँछु भनेर मैले सोचेको पनि थिइन् । तर आफन्तले गर्ने माया र मेरो कामको प्रशंसाले मलाई निकै भावुक बनाएको थियो । यो सम्मानले अझै काम गर्ने उर्जा थपिएको मैले महसुस गरेको छु ।
तपाईँको बाबा ममीले तपाईँलाई चुम्बन गरेको दृश्यले सामाजिक सञ्जालमा सबैको ध्यान तानेको थियो नि ?
हो, ममी बाबाले चुम्बन गरेको दृश्यले धैरैको मन तानेको थियो । जतिखेर म बाइकको यात्रा पूरा गरेर घर फर्केको थिए, बाबा ममीले मलाई अँगालोमा बाँधेर चुम्बन गर्नुभयो । यस अगाडि कहिल्यै माया नदेखाउने बाबा ममीको यस्तो मायाले म भावुक भएको थिए ।
एकल सोलो बाइक यात्राको अनुभव चाहिँ कस्तो रह्यो ?
साह्रै रमाईलो र राम्रो रह्यो । जुन काम गर्ने मेरो बर्षांैदेखिको इच्छा थियो त्यो पुरा पनि भयो । ८४ दिनमा देशका ७७ जिल्लाका विभिन्न भूभाग हिमाल, पहाड र तराईमा यात्रा गर्दै आफनो अभियान सफल बनाएकोमा खुशी लागेको छ ।
तपाईँले रेकर्ड नै तोड्नुभयो ?
हो, अहिलेसम्मको बाइक रेकर्ड तोडेको देख्दा खुशी पनि लागेको छ ।
तपाईँलाई एकल यात्रा गर्न डर लागेन ?
डर त लागिहाल्छ नि ! तर हिम्मत गरेर अघि बढे ‘लक’ले साथ दियो । जति ठाउँ गए सबै ठाउँमा राम्रा नराम्रा मान्छेहरु पनि भेटे । दुबै कारणले पनि मेरो सोलो बाइक यात्रा रोमाञ्चक बन्यो, हिम्मत पनि जुटयो ।
त्यति लामो यात्रा गर्दा खाने बस्ने व्यवस्था कसरी गर्नुहुन्थ्यो ?
डायरीमा नै एक दिन अगाडि कहाँ जाने र कहाँ बस्ने भन्ने बारेमा रुटिङ तयार पार्थे । ती ठाउँको बारेमा पनि बुझ्थे । होटलको बारेमा गुगल गर्दथे । पूर्वतयारी गरेर हिँड्थे । आधा रातमा भने बाईक लिएर हिँडिन ।
महिलाको अन्य शारिरिक समस्याले यात्रामा असर ग¥यो कि गरेन ?
महिनावारी भएको बेला धैरै वाइक चलाउँदा हात खुट्टा र कम्मर दुख्छ । यो महिलाको लागि प्राकृतिक उपहार पनि हो । महिनावारी हँुदा पनि मैले मेरो यात्रा रोकिन ।
महिलाले पनि चाहेमा जे पनि गर्न सक्छन् भन्ने उदाहरण तपाईँले देखाउनुभयो हैन ?
आत्मविश्वास र दृढ सकल्प भए सबै काम गर्न सकिन्छ । भगवानले पनि तँ आँट म पु¥याउँछु भन्छन् अरे । तर त्यसका लागि आँट चाहिँ चाहिन्छ ।
यात्रा गर्दा मुख्य फाइदा चाहिँ के हुँदोरहेछ ?
७७ जिल्लाको संस्कृति र रहनसहन र त्यहाँको समस्या सबै बुझ्ने अवसर पाए । आफ्नो देशलाई नजिक बाट बुझ्ने मौका पाए । धैरै ठाउँमा बाटो नाजुक नै थियो । बाढी पहिरोले आवजजावत गर्न नमिल्ने जोखिमयुक्त सडक प्रशस्तै रहेको पाए ।
तपाईँले विभिन्न पोशाक लगाएर बाइक चलाउनु भयो नि किन होला ?
हो म संस्कृित झल्कने पहिरन चौबन्दी चोली लगाएर बाइक चलाउँछु अनि आधुनिक पहिरनमा पनि बाईक चलाउँछु । यो मेरो सोख हो ।
बाइक राइडर बन्ने सोच कसरी आयो ?
बाइक चलाउने मेरो सानैदेखिको रुचि हो । दादाले बाइक चलाएको देख्दा मलाई पनि चलाउन मन लाग्थ्यो । मेरो रुचिलाई बुझेर दादाले मलाई बाइक सिकाउनुभयो । बाइक सिक्दै जाँदा यस्तो मोह जाग्यो कि बाइक नै मेरो सौख र रहर बनिदियो । आज यो बाइक बिना जीवन अपुरो लाग्छ ।
पहिलो पटक एक्लै बाइक लिएर कहाँ जानुभयो ?
म पहिलो पटक एक्लै बन्दीपुर गएकी थिए । त्यहाँ जान दुई दिन लागेको थियो । त्यो यात्राले मलाई बाइक चलाउन हौसला दिएको थियो ।
तपाई एक्लै बाहिर हिँडन थालेपछि के महशुस गर्न थाल्नुभयो ?
त्यसले धेरै परिवर्तन ल्यायो । मभित्र आत्माबिश्वास बढ्यो । समाजसँग घुलमिल गर्ने मौका पनि पाए । यसबीच राम्रा–नराम्रा सबै प्रकारका मान्छेहरुसँग भेट पनि भयो । सबै प्रकारका अनुभव गर्न पाइयो ।
तपाईँ महिला राइडर हुनुहुन्छ, समाजले राइडरलाइ हेर्ने दृष्टिकोण कस्तो छ ?
हरेक काममा सकारात्मक–नकारात्मक दुवै कुराहरु हुन्छन् । राम्रो पनि भने नराम्रो पनि भने । तर ममी बाबाले म मात्र होइन, तीन जना छोराछोरीलाई जे गर्न मन लाग्छ त्यही गर भन्नुहुन्थ्यो । मलाई यसैमा रुचि जाग्यो । सबैले प्रशंसा गर्दा खुशी लागेको छ ।
तपार्इँ कलाकार कि बाइक राइडर ?
मैलै कलाकारितामा धैरै काम गरिसकेको छु । कलाकारिता पनि मेरो रुचिको विषय हो तर म बाइक राइडर नै भएर चिनिन चाहान्छु ।
यो बाइक राइडिङमा खर्च चाहिँ कति हुन्छ ?
यसमा खर्च बढी नै छ ।
अन्त्यमा, तपाईंको लागि बाइक के हो ?
मेरो संसार ।















