रसुवा । भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेमा माटोमा पुरिएकी सात वर्षीया बालिकाको आज दिउँसो जीवितै उद्धार भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म धुन्चेबाट खटिएको टोलीले हिलाम्मे अवस्थामा रहेकी बालिका शिरगङ्गा इचाई मगरको उद्धार गरेको हो । गम्भीर घाइते अवस्थामा भेटिएकी बालिकालाई हेलिकप्टरमार्फत रसुवा जिल्ला अस्पताल धुन्चे लगिएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।
धुन्चे अस्पतलाका वरिष्ठ सर्जन डा सुनीलकुमार दासले बालिकाको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि शिक्षण अस्पताल महाराजगन्जमा ‘रेफर’ गरिएको जानकारी दिए।
घाइते बालिकाकी आमा अर्घाखाँची स्थायी घर भई हाल ग्लोबल आइएमई बैङ्कको टिमुरे शाखामा कार्यरत गीता इचाइ मगर र बुबा लोकबहादुर उचाइलाई सोही स्थानबाट उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि यसअघि काठमाडौं पठाइएको सशस्त्र प्रहरी निरीक्षक सोम गुरुङले जानकारी दिए ।















