काठमाडौं । भोटेकोशीमा एक्कासि आएको त्यो भीषण बाढी कहाँबाट आयो ? नेपालतर्फ ठूलो वर्षा नै नभएका बेला एकाएक नदीमा लेदोसहितको बाढी किन उर्लियो ? यी प्रश्नको जवाफ अहिले विस्तारै खुल्दै गएको छ । चीन र नेपाल दुवैतर्फ भोटेकोशी नदी हुँदै आएको विनाशकारी बाढीको मुख्य कारक बनेको हिमनदी पहिरोको दृश्य क्यामेरामा कैद भएको पुष्टि भएको छ । यो दृश्य कुनै वैज्ञानिक टोलीले नभइ, तिब्बतको केरुङ काउन्टीमा घुम्न पुगेका एक पर्यटकले संयोगवश आफ्नो क्यामेरामा कैद गरेका हुन् ।
ती पर्यटक हिमालका सुन्दर दृश्य खिचिरहेका थिए । क्यामेरामा के कैद भइरहेको छ भन्ने उनलाई त्यतिबेला पत्तै थिएन । पछि भिडियो हेर्दा पो थाहा भयो क्यामेराले हिमालको सुन्दर दृश्य मात्र होइन, ठूलो विपद्को सुरुवात नै कैद गरिसकेको रहेछ । चिनियाँ एकेडेमी अफ साइन्सेजका निर्देशक काङ सिचाङका अनुसार, उक्त भिडियोमा देखिएको दृश्यलाई स्याटेलाइटबाट प्राप्त नक्सासँग तुलना गर्दा त्यो ठ्याक्कै त्यही क्षेत्रमा भएको हिमनदी पहिरो रहेको पुष्टि भएको छ ।
यसको अर्थ के हो भने, नेपालतर्फ देखिएको बाढी अचानक आकाशबाट खसेको पानीका कारण मात्रै आएको होइन । यसको स्रोत चीनतर्फको उच्च हिमाली क्षेत्रमा भएको ठूलो हिमनदी पहिरोसँग जोडिएको देखिएको छ । हिमनदी र चट्टानको ठूलो भाग एकैपटक तल खस्दा त्यसले नदीको बहावलाई अस्वाभाविक रूपमा बढायो । त्यसमाथि बरफ, चट्टान, माटो र लेदो मिसिँदा पानी मात्रै नभएर एउटा ठूलो विनाशकारी भेल बनेको देखिन्छ । यही भेल नदीको प्राकृतिक बाटो पछ्याउँदै तल झर्दा केरुङ नाका हुँदै भोटेकोशी क्षेत्रमा आइपुगेको हो ।
यस घटनाको अर्को महत्त्वपूर्ण प्रमाण पनि भेटिएको छ । तिब्बतको सांग्बु री हिमशिखर हेर्न पुगेका अर्का पर्यटकको टोलीले पनि हिमपहिरो सुरु भएको क्षणको दृश्य खिचेको पाइएको छ । द न्युयोर्क टाइम्सका अनुसार, बुधबार बिहान पर्यटकहरू हिमालको दृश्य हेरिरहेका बेला उनीहरूले अचानक ठूलो आवाज सुनेका थिए । त्यसपछि केही मिनेटसम्म पहिरोको डरलाग्दो गडगडाहटले पूरै उपत्यका नै थर्किएको उनीहरूले बताएका छन् ।
उनीहरूले खिचेको पहिरोअघिको र पहिरो पछिको भिडियो तुलना गर्दा घटनाको भयावहता अझ स्पष्ट हुन्छ । सुरुमा सामान्य देखिएको हिमाली क्षेत्र केही समयमै धुलो र हिउँको मुस्लोले ढाकिन्छ । त्यसपछि हिमनदी र चट्टानको ठूलो हिस्सा भिरबाट तल उपत्यकातर्फ खसिरहेको देखिन्छ । मुख्य पहिरो खसेपछि पनि साना–साना बरफका टुक्रा भिरबाट खसिरहेकै देखिन्छन् । यही दृश्यले एउटा गम्भीर प्रश्न पनि उठाएको छ– हाम्रो हिमाल कति सुरक्षित छ ?
पहिले हिमालमा हिमपहिरो हुनु सामान्य प्राकृतिक प्रक्रिया जस्तो लाग्न सक्छ । तर अहिले जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा तापक्रम बढ्दै जानु, हिमनदी पग्लिनु र हिमताल तथा हिमनदी अस्थिर हुनुजस्ता घटनाले जोखिम थप बढाइरहेका छन् । यस घटनाले अर्को कुरा पनि देखाएको छ– नेपालमा विपद् आउँदा हामी धेरैपटक घटनास्थलमै कारण खोजिरहेका हुन्छौँ । तर हाम्रो नदीको माथिल्लो भाग अर्को देशको हिमाली क्षेत्रमा पर्छ । त्यसैले सीमापारि उच्च हिमाली क्षेत्रमा भइरहेको परिवर्तनको प्रत्यक्ष असर नेपालसम्म आइपुग्न सक्छ । भोटेकोशीमा आएको यो बाढी त्यसैको एउटा गम्भीर उदाहरण हो ।
बाढी आउँदा नेपालका धेरै क्षेत्रमा त्यस्तो ठूलो वर्षा भएको थिएन । त्यसैले स्थानीय बासिन्दाका लागि यो बाढी झनै अप्रत्याशित बन्यो । आकाशमा पानीको संकेत नदेखिए पनि केही समयमै नदीमा ठूलो भेल आउन सक्छ भन्ने जोखिम अब स्पष्ट भएको छ । त्यसैले यो घटनालाई एउटा बाढी आयो, क्षति भयो र सकियो भनेर मात्र हेर्न मिल्दैन । यो नेपालका हिमाली नदी र सीमापारिका हिमाली क्षेत्रमा भइरहेको परिवर्तनबारे गम्भीर चेतावनी हो ।
अब प्रश्न राहत र उद्धारको मात्र होइन, पूर्वसूचना र पूर्वतयारीको पनि हो । चीनको भूभागमा हिमनदी पहिरो जाँदा त्यसको असर केही समयमै नेपालसम्म आइपुग्न सक्छ भने त्यस्ता घटनाको सूचना नेपालले समयमै कसरी पाउने ? नदीको बहाव अस्वाभाविक रूपमा बढ्नुअघि स्थानीय बासिन्दालाई कसरी सचेत गराउने ? सीमापारि हिमनदी र हिमतालको अवस्था अनुगमन गर्न नेपाल, चीन र सम्बन्धित वैज्ञानिक निकायबीच कस्तो संयन्त्र बनाउने ? यी प्रश्नको जवाफ अब खोज्नैपर्छ । यी दुई पर्यटक टोलीको भिडियोले विपत्तिको स्रोत मात्र देखाएका छैनन्, बरु हाम्रा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको जोखिम कति तीव्र रूपमा बढिरहेको छ भन्ने स्पष्ट ऐना पनि देखाइदिएका छन्।
विश्वव्यापी तापक्रम वृद्धिका कारण उच्च हिमाली क्षेत्रका पुराना हिमनदीहरू कमजोर बन्दै गएका छन् । बरफ पग्लेर चट्टानहरू पन्छिँदा यस्ता भयानक हिमपहिरो जाने र नदीहरू थगिने क्रम बढेको छ । सीमापारि तिब्बतका हिमालमा आउने यस्ता साना–ठूला विपत्तिले नेपालको भोटेकोशीजस्ता नदीहरूमा प्रत्यक्ष विध्वंश मच्चाउने जोखिम झनै बढेर गएको छ । यस घटनाले प्राकृतिक विपत्तिसँग जुध्न पूर्वसूचना प्रणाली र दुवै देशबीचको वैज्ञानिक सहकार्य कति अपरिहार्य छ भन्ने कुरा पुनः पुष्टि गरेको छ । ०००















