
काठमाडौं । रसुवा बाढीमा ज्यान गुमाएर पहिचान हुन नसकेका शवको पहिचानमा चीनले सघाउने भएको छ । चीनले डीएनए पहिचान विज्ञहरु नेपाल पठाउने तयारी गरेको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित प्रेस ब्रिफिङका क्रममा विज्ञसँगै डीएनए परीक्षण उपकरणहरु, ड्रोन जलशुद्धीकरण उपकरण समेत पठाउन लागेको जानकारी दिएका हुन्।
बाढीपछि फेला परेका शवको पहिचान गर्न नेपालमा सकस परिरहेको छ । धेरै दिन नदीमा डुबेका ती शवहरु पहिचान गर्न सकिने अवस्थामा छैनन् । त्यसका लागि डीएनए परीक्षण एक मात्र विकल्प बनिरहेको बेला चीनबाट विज्ञसहितको टोली र उपकरण सहयोग हुन लागेको हो ।
भदौ १० को विनाशकारी बाढीपछि रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा दिनदिनै थप शवहरु फेला परिरहेका छन् । मंगलबार दिउँसोसम्म कम्तीमा १०५८ वटा शव संकलन भइसकेको छ भने सम्पर्कविहीन हुनेको संख्या ४ हजार ६०६ रहेको छ ।














