काठमाडौं । नबिल बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ‘५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३’ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यससम्बन्धी सम्झौतामा मंगलबार नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेका छन् ।
बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य कायम गरी १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रमा वार्षिक ५.५५ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।
कुल ४० लाख कित्ता ऋणपत्रमध्ये २४ लाख कित्ता अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।
त्यस्तै, बाँकी १६ लाख कित्ता अर्थात् १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्कासनमार्फत बिक्री गरिनेछ । यसमध्ये ६५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जनाएको छ ।
नबिल बैंकले हाल २६ लाखभन्दा बढी ग्राहकलाई देशभरका २६३ शाखा र ३१५ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।














