नुवाकोट । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धार कार्यमा ठूलो सफलता हात लाग्ने देखिएको छ । उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको जनाइएको छ ।

पछिल्लो जानकारी अनुसार, सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको छ । उद्धारमा खटिएको टोलीले भित्र फसेकाहरूलाई ढाडस दिँदै ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौ’ भनी कराउँदा भित्रबाट ‘हुन्छ’ भन्ने स्पष्ट प्रतिक्रिया प्राप्त भएको छ । यसले भित्र फसेका व्यक्तिहरू जीवित र सचेत अवस्थामा रहेको पुष्टि गरेको छ।
सांसद श्रीराम न्यौपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको टोली अहिले अत्यन्तै सावधानीपूर्वक र तीव्र गतिमा उद्धार कार्यलाई अगाडि बढाइरहेको छ ।
‘भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिनु र उद्धार टोलीको कुरामा प्रतिक्रिया आउनुले हामीलाई थप उत्साहित बनाएको छ,’ न्यौपानेले बताए ।
अहिले घटनास्थलमा थप प्राविधिक सहयोग र उद्धारका उपकरणहरू परिचालन गरिएको छ । सुरुङको जटिल बनावटका बावजुद सुरक्षाकर्मीहरूले फसेका व्यक्तिहरूलाई बाहिर निकाल्न हर सम्भव प्रयास गरिरहेका छन् ।














