Logo
Logo

माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्र आवाज सुनिएपछि मेडिकल टोली तयारी अवस्थामा 


441
Shares

काठमाडौं । माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्र मान्छे बोलेको आवाज सुनिएपछि मेडिकल टोलीलाई तयारी अवस्थामा राखिएको छ । १० दिनदेखि त्रिशुली ३ ‘ए’को सुरुङ भित्र फसेका मानिसहरू बोलिरहेको आवाज आज बिहान उद्धार कर्ताले सुनेका हुन् । 

The current image has no alternative text. The file name is: tirsuli-a.jpg

सुरुङमा जारी उद्धार स्थलमा नेपाली सेनाको मेडिकल टोली तयारी अवस्थामा राखिएको छ । यही भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका विद्युत् आयोजनाका कर्मचारी र कामदार सुरुङभित्र बोलेको आवाज सुनिएपछि उनीहरू सकुशल नै रहेको अनुमान उद्धार कर्ताले गरेका छन् । 

उद्धार कार्य जारी रहँदा भित्रबाट एकभन्दा बढी व्यक्ति बोलेको आवाज सुनिएको उद्धार कर्ताहरूले बताएका छन् ।  उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ । उद्धारका क्रममा आवश्यक पर्ने यातायात तथा उद्धार व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणले नेपाली सेनासँग समन्वय गरिरहेको छ । 

सम्भावित आकस्मिक अवस्थालाई ध्यानमा राख्दै हेलिकोप्टर तथा स्थल एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ भने अस्पतालहरूलाई समेत पूर्वसूचना दिइएको छ ।

यससँगै सुरुङबाट उद्धार गरिएकाहरूलाई तत्काल स्वास्थ्य उपचार उपलब्ध गराउन आवश्यक मेडिकल व्यवस्थापनसमेत तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ । 

उद्धार तथा राहतसम्बन्धी सम्पूर्ण काम नेपाली सेनाको नियन्त्रणमा भइरहेको छ । सुरुङभित्र फसेकाहरूलाई सुरक्षित निकाल्न सेनाले सक्दो प्रयास गरिरहेको जनाएको छ । त्रिशूली–३ ‘ए’ आयोजनामा कार्यरत ४२ जना भदौ १० को बाढीपछि सम्पर्कविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्