काठमाडौं । अटो शोहरूमा नयाँ गाडी हेर्न र किन्न जानेहरूको रोजाइमा विभिन्न ब्रान्डका इलेक्ट्रिक भेहिकल (ईभी) पर्ने गरेका छन् । अटो शोमा ईभी हेर्न जाने ग्राहकहरूलाई स्टलका स्टाफहरूले आकर्षक कुरा गरेर लठ्ठै पार्छन् । गाडी हेर्दा चिल्लो, राम्रो र आकर्षक देखिन्छ, भित्रको इन्टेरियर पनि मन लोभ्याउने खालको हुन्छ । यसले गर्दा ग्राहकहरू ‘यही ईभी सस्तो र राम्रो छ’ भनेर झुक्किने सम्भावना हुन्छ । तर, जीवनमा एकपटक गाडी चढ्ने रहर गर्नेहरू बाहिरी रूप हेरेर चिटिक्क परेको ईभीमा फस्नुभन्दा अगाडि त्यसको ब्याट्री वारेन्टी, आफ्टर सेल्स सर्भिस र एक्सचेन्ज सुविधाबारे राम्रोसँग बुझ्नुपर्छ । त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, आफूले किन्न लागेको ईभी कम्पनीले विश्वका कुन–कुन देशमा आफ्ना गाडी निर्यात गरिरहेको छ भन्ने बुझ्न जरुरी हुन्छ ।
अहिले नेपालमा चीनमै नाम नसुनिएका र अन्तर्राष्ट्रिय बजारमा समेत चर्चा नपाएका धेरै ईभी कम्पनीहरू भित्रिएका छन् । विगतमा नेपाल आएका कतिपय ईभी कम्पनी बन्द भइसकेका छन् भने कतिपय मर्ज भइसकेको छ । यस्तो अवस्थामा आज तपाईंले किनेको ईभीमा भोलि कुनै समस्या आयो भने के गर्ने ? त्यसैले, आफ्नो जीवनभरको कमाइ खर्च गरेर लामो समयसम्म प्रयोग गर्ने उद्देश्यले गाडी किन्दा कुन कम्पनीको ईभी अन्तर्राष्ट्रिय ब्रान्ड हो भनेर राम्रोसँग बुझ्नुपर्छ ।
अहिले नेपालका सडकमा जताततै बीवाईडीका गाडीहरू देखिन्छन् । यो टेस्लाको प्रतिस्पर्धी ब्रान्ड हो । सन् २०१५ देखि नै बीवाईडीका ईभीहरू नेपालका सडकमा गुडिरहेका छन् र अहिलेसम्म ती गाडीहरूमा कुनै ठूलो समस्या आएको छैन । सरकारी स्तरमा समेत ईभीलाई प्रोत्साहन गर्न तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले बीवाईडीको पुरानो मोडल ‘ई–सिक्स’ प्रयोग गरेकी थिइन् । राष्ट्रपतिले मात्र होइन, प्रतिष्ठित उद्योगी, व्यापारी, सञ्चारकर्मीदेखि लिएर युवाहरूसम्म बीवाईडीकै दबदबा छ । नेपालको सडकमा अहिले गुडिरहेका ईभीहरूमध्ये बीवाईडीका एटो–३, डल्फिन र एटो–१ जस्ता मोडलहरू बढी चलेका छन् ।
त्यसमाथि, बजेटमार्फत ५० लाखभन्दा कम मूल्यका ईभीमा भन्सार महसुल छुट दिएपछि बीवाईडीको एटो–१ मा धेरैको आँखा परेको छ । नाइमा अटो शोमा पनि एटो–१ को राम्रो बुकिङ भएको आधिकारिक बिक्रेता साइमेक्स इंकले जनाएको छ । सानो परिवारको लागि एटो–१ विश्वबजारमै उत्कृष्ट ईभी मानिन्छ । ईभी किन्दा सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा भनेको त्यसमा प्रयोग भएको ब्याट्री कुन प्रविधिको हो भन्ने हो । बीवाईडी आफैँमा ब्याट्री बनाउने कम्पनी भएको र यसको ब्याट्रीमा विश्व बजारमै अहिलेसम्म कुनै गम्भीर समस्या नदेखिएको कुरा प्रमाणित भइसकेको छ ।
धेरैलाई सम्झना हुनसक्छ, विगतमा नेपालमा ईभी चार्ज गर्दागर्दै पड्किने र सडकमा कुद्दाकुद्दै आगो लाग्ने जस्ता घटना पनि भएका छन् । त्यसैले गाडी किन्दा ग्राहकहरू विशेष सचेत हुन जरुरी छ । विश्वसनीय ब्रान्ड भएकै कारण अहिले विश्वभर करिब १७.३ मिलियन अर्थात् एक करोड ७३ लाख बीवाईडीका गाडीहरू गुडिरहेका छन् ।
अहिलेसम्म नेपालमा बिक्री भएका बीवाईडीका गाडीहरूमा कुनै समस्या देखिएको छैन । यदि कुनै समस्या आइहालेमा पनि सर्भिस सेन्टरले तुरुन्तै समाधान गरिदिने व्यवस्था छ । हाल नेपालभर बीवाईडीका १३ वटा सर्भिस सेन्टर सञ्चालनमा छन् भने थप ४ वटा सर्भिस सेन्टर निर्माण भइरहेका छन् । साथै, कम्पनीले चार्जिङ स्टेसन विस्तारलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ ।















