
काठमाडौं । गृह मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘ग्रीन आर्मी नेपाल’ सँग संस्थाको आधिकारिक कागजात माग गरेको छ ।
पछिल्लो समय संस्थाको स्वरूप, नाम र गतिविधिमाथि सामाजिक सञ्जालदेखि संसद्सम्म प्रश्न उठेपछि गृह र सीआईबीले संस्थाका आधिकारिक डकुमेन्टहरू माग गरेको हो ।
संस्थाका संस्थापक अध्यक्ष सविन शर्माले गृहसहितको सम्बन्धित निकायले डकुमेन्ट माग गरेको र आफूहरूले बुझाइसकेको बताए ।
संस्थाको नाममा रहेको ‘आर्मी’ शब्द र प्रयोग गरिएको सैनिक शैलीको पोसाकलाई लिएर संसद्मा समेत सांसदहरूले प्रश्न उठाएका थिए । यस विषयमा शर्माले यदि सरकारले ‘आर्मी’ शब्द प्रयोग गर्न नपाउने गरी साझा नीति बनाएमा आफूहरू नाम परिवर्तन गर्न तयार रहेको बताए ।
उनले आफूहरूले प्रयोग गरेको ड्रेस एनसीसीका विद्यार्थीहरूले लगाउने पोसाकसँग मिल्दोजुल्दो रहेको र यसलाई अन्यथा लिन नहुने तर्क गरे ।
संस्थाले मुख्यतया वृक्षारोपण, हरियाली प्रवद्र्धन, कृषि र विद्यालयहरूमा स्वयंसेवाको काम गर्दै आएको दाबी शर्माको छ । उनले संस्थालाई बदनाम गराउनका लागि सामाजिक सञ्जालमा एआईको दुरुपयोग गरी भ्रामक फोटो र सन्देशहरू फैलाइएको आरोप समेत लगाए ।















