काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली ‘जनकपुर बोल्ट्स’का मालिक उत्सव सिग्देलले आफू क्लब तथा ‘ड्रीम स्पोर्ट्स प्राइभेट लिमिटेड’बाट अलग भएको घोषणा गरेका छन्। उनले संस्थाको सम्पूर्ण सञ्चालन, व्यवस्थापन र दैनिक कार्यगत जिम्मेवारीबाट आफू बाहिरिएको स्पष्ट पारेका हुन्।

एनपीएलको तेस्रो सिजन सुरु हुन ५० दिन मात्र बाँकी रहँदा सिग्देलले सामाजिक सञ्जालमार्फत टोलीबाट अलग भएको जानकारी दिएका हुन्। जनकपुर बोल्ट्स एनपीएलको पहिलो सिजनको विजेता टोली हो।
फेसबुकमार्फत एक सन्देश जारी गर्दै सिग्देलले तत्काल लागु हुने गरी फ्रेन्चाइज र कम्पनीको सम्पूर्ण जिम्मेवारीबाट आफ्नो संलग्नता अन्त्य भएको बताएका छन्। आगामी दिनमा जनकपुर बोल्ट्स वा ड्रीम स्पोर्ट्स प्राइभेट लिमिटेडको व्यवस्थापन, प्रशासन, सञ्चालन, वित्तीय कारोबार, करारसम्बन्धी निर्णय तथा खेलाडी र कर्मचारी व्यवस्थापनलगायत कुनै पनि विषयमा आफ्नो संलग्नता नरहने उनले उल्लेख गरेका छन्।
उनले अबदेखि यी संस्थासँग सम्बन्धित कुनै पनि प्रतिनिधित्व, प्रतिबद्धता, कारोबार वा आधिकारिक सञ्चारमा आफ्नो नाम प्रयोग नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्। उनले लेखेका छन्, “यस मितिपछि जनकपुर बोल्ट्स वा ड्रीम स्पोर्ट्स प्राइभेट लिमिटेडको तर्फबाट गरिने कुनै पनि कार्य, निर्णय, प्रतिबद्धता वा दायित्वप्रति मेरो जिम्मेवारी रहने छैन।”
फ्रेन्चाइज र कम्पनीसँगको यात्राका क्रममा सहयोग गर्ने खेलाडी, प्रशिक्षक, कर्मचारी, समर्थक, शुभेच्छुक तथा अन्य सबैप्रति उनले आभार व्यक्त गरेका छन्। यस क्रममा प्राप्त अनुभव, अवसर र निर्माण भएका सम्बन्ध आफ्ना लागि निकै महत्त्वपूर्ण रहेको उनले बताए।
क्लबको जिम्मेवारीबाट अलग भए पनि नेपाली खेलकुदप्रतिको आफ्नो प्रतिबद्धता भने निरन्तर रहने उनको भनाइ छ। आगामी दिनमा विभिन्न परियोजना तथा पहलमार्फत नेपाली खेलकुदको विकास, प्रवर्द्धन र विस्तारमा योगदान गरिरहने उनले प्रतिबद्धता जनाएका छन्। साथै, उनले जनकपुर बोल्ट्स र ड्रीम स्पोर्ट्सको आगामी यात्राका लागि सफलताको शुभकामना समेत व्यक्त गरेका छन्।
पहिलो सिजनको च्याम्पियन जनकपुर बोल्ट्स दोस्रो सिजनमा भने अन्तिम (आठौँ) स्थानमा सीमित भएको थियो। यसपालि टोलीले नयाँ खेलाडीहरू अनुबन्ध गर्ने क्रम जारी राखेको छ। सिजन २ मा पोखराबाट खेलेका जिम्मी निशम जनकपुरमै फर्किएका छन् भने अमेरिकाका हरमित सिंहलाई कप्तानीको जिम्मा दिइएको छ। यद्यपि, अघिल्ला दुई सिजनमा जनकपुरका मार्की खेलाडी रहेका आसिफ शेखले भने यो सिजनमा क्लब छाडेका छन्।















