रसुवा । त्रिशुलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएसँगै रसुवा जिल्लालाई सडक सञ्जालमा जोड्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि सरोकारवाला निकायले वैकल्पिक सडकको मर्मत सम्भार गरी यातायात सुचारु गरेका हुन् । मध्यपहाडी राजमार्गअन्तर्गत ढिकुरेदेखि फेदी बेसी चोक, हिरामुनिटार, चोगते, बोरे भञ्ज्याङ, सानो खोला , धनस्वारा र पाटिखर्क खण्डमा व्यापक मर्मत कार्य गरिएको छ ।

एक्साभेटर, ब्याकहोल लोडर र टिपर जस्ता हेभी मेसिनरी उपकरणहरूको प्रयोग गरी पहिरो पन्छाउने, सडकको सतह मिलाउने, कच्ची नाली निर्माण गर्ने तथा साँघुरो स्थानमा सडक चौडा गर्ने कार्य सम्पन्न भएको छ । साथै, आवश्यक स्थानमा ग्राभेल राख्ने र कल्भर्ट निर्माण गरिएसँगै अब उक्त खण्डमा ठूला सवारी साधनहरू समेत दुईतर्फी रूपमा सञ्चालन हुनसक्ने भएका छन् ।
यसअघि रसुवा आवतजावतका लागि काठमाडौं–टोखा–छहरे–चौघडा पुल–बाहुनबेसी–आप्र–नर्जा–लच्याङ–सरमथली हुँदै पाटिखर्क–बोगटीटार–कालिकास्थान–धुन्चे मार्ग प्रयोग हुने गरेको थियो। उक्त मार्गमा मुख्यतः साना चार पाङ्ग्रे सवारी साधन मात्र सञ्चालनमा थिए ।
अब दुईवटा वैकल्पिक मार्ग सञ्चालनमा आएकाले सवारी चाप व्यवस्थापन गर्न ‘एकतर्फी’ प्रणालीको खाका तयार पारिएको छ । जसअनुसार भारवाहक सवारी साधनहरू ढिकुरे–बोरे भञ्ज्याङ–पाटिखर्क खण्डबाट रसुवातर्फ जाने र फर्कंदा पाटिखर्क–लच्याङ–नर्जा–आप्र–बाहुनबेसी–चौघडा खण्ड प्रयोग गर्न सक्नेछन् । यो व्यवस्थाले सडकमा हुनसक्ने सवारी जामलाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।
सडक भर्खरै मर्मत गरी सञ्चालनमा ल्याइएकाले वर्षाका कारण कतिपय स्थानमा बाटो हिलो र चिप्लो हुन सक्ने भन्दै चालकहरूलाई उच्च सावधानी अपनाउन आग्रह गरिएको छ । सवारी साधन र यात्रुहरूको सुरक्षित यात्रा सुनिश्चित गर्न प्राविधिक टोलीले सडकको अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ ।















