काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको अचानक बाढीका कारण रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा अकल्पनीय भौतिक तथा मानवीय क्षति भएको थियो । सोही विपतबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त सहयोग रकम जम्मा गरिएको सहकारीले जनाएको छ।
सहकारीका अनुसार सो रकम संस्थाका सदस्यहरू, सञ्चालक समिति, उपसमिति तथा कर्मचारीहरूको संयुक्त योगदानबाट संकलन गरिएको हो ।
सहकारीले जारी गरेको प्रेस नोटमा बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै वेपत्ता भएकाहरूको शीघ्र खोजतलास तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। साथै, विपतको यस कठिन घडीमा पीडित परिवारजनहरूप्रति गहिरो सहानुभूति प्रकट गर्दै राहत र मानवीय सेवाका काममा हातेमालो गर्न सबैलाई आह्वानसमेत गरिएको छ।















