Logo
Logo

‘हामी कसैसँग राजनीति सिक्न आएका होइनौँ, सिकाउन आएका हौँ’: गृहमन्त्री गुरुङ


189
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गरेका छन् । जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ पुस्ता पुरानो राजनीतिक शैली सिक्न नभई त्यसलाई सच्याउन आएको बताए ।

गृहमन्त्री गुरुङले नयाँ पुस्ताको सरकारले पुरानो राजनीतिक संस्कारलाई परिवर्तन गर्ने बताए । वर्तमान सरकारले जनतामाथि शासन गर्ने नभई सेवा गर्ने राजनीतिक संस्कार विकास गर्ने उनको भनाइ छ । पुरानो पुस्ताले जनतामाथि राज मात्रै गरेको उल्लेख गर्दै उनले नयाँ पुस्ताले जनताको सेवा गर्ने स्पष्ट पारे ।

नयाँ पुस्ता सरकारमा टीका लगाएर नभई निर्वाचनमा दुईतिहाइ मत ल्याएर आएको उनले बताए । पुराना राजनीतिक दलहरूलाई आफूहरूलाई राजनीति, संस्कार र सरकार चलाउन नसिकाउन आग्रह गर्दै उनले भने, “हाम्रो बोली, शैली वा काम गर्ने तरिका कतिपयलाई असहज लाग्न सक्छ, तर हामी गलत काम गर्दैनौँ ।”

वर्तमान सरकार तीन करोड नेपालीको आशा भएको दाबी गर्दै उनले सरकारको उद्देश्य पछाडि फर्किने नभई नयाँ नेपाल निर्माणतर्फ अघि बढ्ने रहेको बताए ।

कार्यक्रममा उनले भने, ‘हाम्रो भविष्य हामी आफैँ कोर्नेछौँ, अरूलाई कोर्न दिने छैनौँ । राजनीति हामी सिकाउन आएका हौँ, सिक्न आएका होइनौँ । तपाईँहरूको राजनीतिले जनतामाथि राज गर्न सिकायो, तर यो युवा पुस्ताको सरकार हो, हामी सेवा गर्न सिकाउँछौँ । यही हो नयाँ राजनीति । तपाईँहरू संस्कार र परम्पराको कुरा गर्नुहुन्छ, हामी त्यही गलत संस्कार परिवर्तन गर्न आएका हौँ । हामीलाई यत्तिकै टीका लगाएर पठाइएको होइन, चुनाव लडेर र जितेर दुईतिहाइको बहुमत ल्याएर देखाएको सरकार हो । आफूलाई राजनीतिमा परिपक्व ठानेर भाषण सुनाउने नेताहरूलाई म यही मञ्चबाट सन्देश दिन चाहन्छु— त्यो पुरानो संस्कार भत्काउन नै नयाँ पुस्ताको सरकार आएको हो, चेतना भया ।’

उनले नेपाललाई स्विट्जरल्यान्ड वा सिङ्गापुर बनाउने नभई आफ्नै पहिचानसहितको नेपाल निर्माण गर्ने बताए । साथै, उनले सरकारको कामप्रति विश्वास गर्न नागरिकलाई आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्