Logo
Logo

दैनिक १ लाख सिलिन्डर माग, वितरण १८ हजार मात्रै


0
Shares

काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण ढुवानी प्रभावित हुँदा सङ्घीय राजधानी काठमाडौँमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा ठूलो गिरावट आएको छ।

मुख्य राजमार्ग अवरुद्ध भएपछि उद्योगीहरूले वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथ हुँदै ग्यास ढुवानी गरिरहेका छन्। घुमाउरो र असहज बाटो प्रयोग गर्नुपर्दा बजारको मागअनुसार पर्याप्त ग्यास भित्र्याउन नसकिएको व्यवसायीहरू बताउँछन्।

आपूर्तिमा आएको यही समस्याका कारण मङ्गलबार काठमाडौँ उपत्यकामा ९ वटा ग्यास कम्पनीका जम्मा १८ हजार २ सय ५९ वटा सिलिन्डर मात्रै डिलरसम्म पुगेका छन्।

काठमाडौँ उपत्यकामा हाल दैनिक १ लाख सिलिन्डर ग्यासको माग भइरहेको नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले बताए। सामान्य अवस्थामा भने दैनिक ३५ देखि ४० हजार सिलिन्डर ग्यास खपत हुने गरेको उनको भनाइ छ।

कुन कम्पनीको कति वितरण?
नेपाल आयल निगमको एलपीजी विभागका अनुसार मङ्गलबार विभिन्न ग्यास कम्पनीहरूले गरेको सिलिन्डर वितरण विवरण यस प्रकार छ:

सगरमाथा ग्यास: ६० वटा डिलरमार्फत ४,६९९ सिलिन्डर

एभरेस्ट ग्यास: २८ वटा डिलरमार्फत ३,४७५ सिलिन्डर

सुगम ग्यास: १५ वटा डिलरमार्फत २,४२३ सिलिन्डर

एसटीसी ग्यास (साल्ट ट्रेडिङ): ४४ वटा डिलरमार्फत २,१४६ सिलिन्डर

श्री ग्यास: १८ वटा डिलरमार्फत १,९६० सिलिन्डर

सीताश्री ग्यास: ११ वटा डिलरमार्फत १,६०० सिलिन्डर

श्रीमाया ग्यास: १४ वटा डिलरमार्फत १,२९१ सिलिन्डर

श्रीराम ग्यास: ९ वटा डिलरमार्फत ३६० सिलिन्डर

मनोज ग्यास: ६ वटा डिलरमार्फत ३०५ सिलिन्डर

ढुवानीमा भएको ढिलाइ र मागको तुलनामा आपूर्ति निकै कम भएकाले ग्यास वितरण प्रणाली प्रभावित बनेको छ। उपभोक्ताहरू ग्यास पाइने आशामा डिलर तथा उद्योग परिसरमै दिनरात लाइन बस्न बाध्य छन्।

प्रतिक्रिया दिनुहोस्