काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रियसभाबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर माफी मागेकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा मन्त्री गौतमले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी मागेकाी हुन् । उनले जेनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रियसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधित्व नभएका कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिएकी छन् ।
मन्त्री गौतमको यो अभिव्यक्तिको संसदीय समितिदेखि राष्ट्रियसभामा समेत चर्को आलोचना भएको थियो । आफूले कानून निर्माणमा राष्ट्रियसभाले असहयोग गरेको अभिव्यक्ति नदिएको उनको जिकिर छ । उनले कानून निर्माण प्रक्रिया जटिल भएको वास्तविक तथ्यलाई राजनीतिक कोणबाट व्याख्या गरिएको भन्दै असन्तुष्टि जनाइन् ।















