काठमाडौं । फुटबलको मैदानमा सामान्यतः प्रतिस्पर्धा हुन्छ, गोलका लागि दौड, जितका लागि संघर्ष र ट्रफीका लागि भिडन्त । त्यहाँ विपक्षी हुन्छ, रणनीति हुन्छ र हार–जितको हिसाब हुन्छ । तर, कहिलेकाहीँ मैदानभन्दा बाहिरको एउटा यस्तो क्षण आउँछ, जहाँ क्लब, खेलाडी र समर्थकबीचको प्रतिस्पर्धा भन्दा अघि मानवता अगाडि आउँछ । नेपालको भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीपछि विश्व फुटबलले देखाएको ऐक्यबद्धता त्यस्तै एउटा क्षण हो ।
बाढीले नेपालका सयौँ घर बगायो, परिवारहरू विस्थापित भए, ठूलो संख्यामा मानिस बेपत्ता भए । सडक, पुल, व्यापारिक संरचना र पूर्वाधारमा क्षति पुग्यो । तर, विपत्तिको यो खबर नेपालका सीमाभित्र मात्र रोकिएन । राजनीतिक तथा कूटनीतिक तहमा चासो बढिरहँदा संसारकै सबैभन्दा प्रभावशाली खेलकुद उद्योगमध्ये एक फुटबल पनि नेपालको दुःखसँग जोडियो ।
स्पेनिस फुटबलको क्लब बार्सिलोनाले अगस्ट २८ मा एथ्लेटिको क्लबविरुद्धको खेलअघि एक मिनेट मौनधारण गरेर नेपाली बाढीपीडितप्रति ऐक्यबद्धता जनायो । क्याम्प नोउमा भएको त्यो मौनता केही सेकेन्डको मात्र थियो, तर त्यसको पहुँच लाखौँ–करोडौँ मानिससम्म पुग्यो । क्लबले नेपाल र चीनको सीमा क्षेत्रमा भएको विनाशकारी बाढीबाट प्रभावित मानिसहरूको सम्झना गर्दै उद्धार र राहतमा खटिएकाहरूप्रति सम्मान व्यक्त ग¥यो ।
यसको अर्थ केवल एउटा क्लबले सामाजिक सञ्जालमा समवेदना प्रकट ग¥यो भन्ने होइन । बार्सिलोनाजस्तो विश्वव्यापी ब्रान्डले नेपाललाई आफ्नो अन्तर्राष्ट्रिय सञ्चारको हिस्सा बनाउनु आफैंमा ठूलो कुरा हो । किनकि फुटबल क्लब अब केवल खेल खेल्ने संस्था रहेनन् । उनीहरू करोडौँ मानिसको भावनासँग जोडिएका विश्वव्यापी सञ्चार माध्यमसमेत हुन् ।
त्यसपछि एथ्लेटिको मड्रिडले ‘स्टे स्ट्रोङ नेपाल’ अर्थात् ‘बलियो रहोस् नेपाल’ भन्ने सन्देशमार्फत पीडितप्रति समवेदना प्रकट ग¥यो । स्पेनकै अर्को ठूलो क्लब रियल मड्रिडले पनि सान्टियागो बर्नाबेउमा बाढीपीडितको सम्झनामा एक मिनेट मौनधारण ग¥यो ।
रियल मड्रिड र बार्सिलोनाजस्ता क्लबले नेपाललाई सम्झनु भावनात्मक रूपमा मात्र महत्वपूर्ण होइन, यसको एउटा रणनीतिक अर्थ पनि छ । विश्वका ठूला क्लबको समर्थनले विपत्तिमा परेका देशको आवाजलाई अन्तर्राष्ट्रिय दर्शकसम्म पु¥याउँछ । जुन विषय नेपालको समाचार कक्षमा सीमित हुन सक्थ्यो, त्यो विश्व फुटबलको रंगशालासम्म पुग्छ । यही नै खेलकुदको ‘सफ्ट पावर’ हो ।
त्यसलाई युरोपेली फुटबल महासंघ यूईएफएले अझ फराकिलो बनायो । च्याम्पियन्स लिगका खेलअघि नेपालमा आएको बाढीप्रति ऐक्यबद्धता जनाउँदै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरियो । फेनरबाच र रोमाबीचको खेलमा ‘टुगेदर फर नेपाल’ लेखिएको सन्देशसमेत देखियो । खेल सुरु हुनुअघिका ती क्षणमा हजारौँ दर्शक मैदानमा थिए, तर त्यसको दृश्य संसारभरका करोडौँ दर्शकसम्म पुग्यो ।
अझ महत्वपूर्ण कुरा, यो ऐक्यबद्धता एउटा देश वा एउटा क्लबमा सीमित रहेन । आर्सनल फाउन्डेसनले राहत सहयोग जुटाउने पहलसमेत ग¥यो । अर्थात्, फुटबलले केवल ‘हामी तपाईंको दुःखमा छौँ’ भनेन, सहयोगको भावनालाई व्यवहारमा लैजाने प्रयाससमेत ग¥यो ।
फुटबलसँगै क्रिकेटको संसार पनि नेपालप्रति उभियो । इन्डियन प्रिमियर लिगका राजस्थान रोयल्स, चेन्नई सुपर किङ्स, कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादलगायतका फ्रेन्चाइजहरूले नेपाली बाढीपीडितप्रति समवेदना व्यक्त गरे । उद्धार र राहतमा खटिएका सुरक्षाकर्मी तथा स्वयंसेवकहरूको प्रशंसा गरे । विश्वका विभिन्न खेलाडी र खेल संस्थाबाट आएका समर्थनका सन्देशले पनि नेपालको पीडालाई अन्तर्राष्ट्रिय खेलकुद समुदायसम्म पु¥यायो ।
यहाँ एउटा गम्भीर प्रश्न उठ्छ—किन खेलकुदको यस्तो समर्थन महत्वपूर्ण छ ? किनकि विपत्तिको समयमा राहतका लागि पैसा, औषधि, खाना र उद्धार सामग्रीको लागि सबैभन्दा घटना थाहा हुनुपर्छ । त्यसपछि मात्रै उनीहरुले सहयोगको हात अघि बढाउने हो । खेलले अन्तर्राष्ट्रिय चर्चाले सरकार, गैरसरकारी संस्था, दाता र स्वयंसेवी संस्थाको ध्यान आकर्षित गर्न सक्छ । एउटा चर्चित फुटबल क्लबको एउटा पोस्टले कहिलेकाहीँ सामान्य संस्थाको सयौँ अपिलभन्दा धेरै मानिससम्म सन्देश पु¥याउन सक्छ ।
नेपालले यसअघि पनि यस्तो मानवीय ऐक्यबद्धता अनुभव गरिसकेको छ । २०७२ सालको विनाशकारी भूकम्पपछि लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले ‘सेभ द चिल्ड्रेन’मार्फत नेपालका बालबालिकाका लागि सहयोग जुटाउने अभियानमा साथ दिएका थिए । त्यतिबेला पनि विश्व फुटबलका ठूला नामले नेपालको पीडालाई विश्वमञ्चमा पु¥याएका थिए ।
भोटेकोशी र त्रिशूलीको बाढीपछि देखिएको विश्व फुटबलको समर्थन त्यसैको निरन्तरता हो । यसले एउटा महत्वपूर्ण सत्य सम्झाएको छ– खेलकुद केवल मनोरञ्जन होइन, संकटका बेला समाजलाई जोड्ने शक्ति पनि हो ।
फुटबलको मैदानमा खेलाडीहरू फरक जर्सी लगाउँछन्, फरक क्लबका लागि खेल्छन् र एकअर्कालाई हराउन मैदानमा उत्रिन्छन् । तर, मानवीय संकटका अगाडि ती सबै जर्सीको रङ एउटै हुन्छ ।
नेपालको बाढीले पुल भत्कायो, सडक बगायो, घर उजाड्यो र परिवार छुटायो । तर, नेपालीको पीडाले संसारका रंगशालामा एउटा सन्देश पु¥यायो– मानवताको कुनै सीमारेखा हुँदैन । र त्यसैले, जब विश्व फुटबलले नेपालका लागि मौनधारण गर्छ, जर्सीमा ‘टुगेदर फर नेपाल’ लेखिन्छ वा एउटा क्लबले राहतका लागि हात बढाउँछ, त्यो केवल श्रद्धाञ्जली होइन । त्यो विपत्तिमा परेका नेपालीलाई संसारले देखिरहेको छ, सम्झिरहेको छ र उनीहरू एक्ला छैनन् भन्ने बलियो सन्देश हो ।















