Logo
Logo

प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने


0
Shares

कठमडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आउँदो असोज ८ गते सम्बोधन गर्ने भएका छन् ।

महासभाको ‘उच्चस्तरीय सामान्य बहस’ असोज ६ देखि १२ गतेसम्म अमेरिकाको न्युयोर्कमा सञ्चालन हुनेछ । महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस पटकको महासभाको नारा ‘विश्वास पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसङ्घ’ रहेको छ । संयुक्त राष्ट्रसङ्घबाट प्राप्त जानकारीअनुसार अहिलेसम्म महासभामा ८१ देशका राष्ट्रप्रमुख र नेपालसहित ५० देशका सरकार प्रमुखहरू सहभागी हुने छन् ।

मन्त्रालयका सचिव अमृतबहादुर राईले नेपालमा गएको वर्ष भएको नवयुवा आन्दोलन, त्यसपछि भएको चुनावमार्फत प्राप्त जनादेशसहित गठन भएको वर्तमान सरकारका प्राथमिकतालगायतका विषयहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न ८१औँ महासभा महत्त्वपूर्ण अवसर हुने बताए ।

यस विषयमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय सहयोग एवम् सद्भावको निरन्तरता र बढोत्तरीका लागि उच्चस्तरबाटै आह्वान गर्नसमेत यो महासभा महत्त्वपूर्ण अवसरका रूपमा रहेको बताए ।

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले अपूरणीय क्षति भोग्नुपरेको छ । यसले नेपाल जलवायु सङ्कटको दृष्टिले जोखिममा रहेको पुनर्पुष्टि गरेको छ ।

‘विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगन्य योगदान रहे पनि यसका नकारात्मक असरबाट नेपालजस्ता देश सर्वाधिक पीडित हुनुपरेको अवस्था छ’, सचिव राईले भने, ‘यस सन्दर्भमा प्रधानमन्त्रीबाट महासभामा जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपबाट नेपालले बारम्बार भोग्नुपरेको जनधनको क्षतिबारे विश्वसमुदायको ध्यानाकर्षण गराउने विषय प्रस्तुत हुनेछ ।’

साथै महासभामा नेपालले नगन्य कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनका नकारात्मक असरहरू भोग्नु परिरहेको विषयलाई प्रस्तुत गरिने उहाँले बताउनुभयो । यस सन्दर्भमा हानि तथा नोक्सानीको सम्बोधनसम्बन्धी कोषलगायतका निकायबाट तत्कालै र उचित क्षतिपूर्ति प्राप्त गर्नेजस्ता जलवायु न्यायसम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्