Logo
Logo

रसुवा र नुवाकोटमा मुख्य राजमार्ग अझै पूर्ण रूपमा अवरुद्ध


189
Shares

काठमाडौं । बाढी तथा पहिरोका विभिन्न राजमार्ग अन्तर्गत आठ ठाउँको सडक पूर्ण रुपमा अबरुद्ध रहेको छ । नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार रसुवामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

भदौ १० गतेदेखि बाढीका कारण अवरुद्ध सडकमा अझै यातायात सञ्चालन हुन सकेको छैन । रसुवाको मैलुङ–स्याफ्रुबेंसी तथा नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि बाढी तथा पहिरोको जोखिमका कारण यातायात प्रभावित रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा अरनिको राजमार्ग पहिरोका कारण भदौ २५ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा पहिरो खसेपछि भदौ २६ गते साँझदेखि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । यसैगरी काभ्रेमा बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्ड भदौ १६ गतेदेखि रातीको समयमा अर्को सूचना नभएसम्मका लागि बन्द छ ।

यसैबीच भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याएको परेवाटार–मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी गाडी सञ्चालनको व्यवस्था भएको छ । सडक साँघुरो भएकाले दुवैतर्फबाट एकै समयमा गाडी चलाउँदा आवागमन व्यवस्थापनमा कठिनाइ भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो ।

प्रशासनका अनुसार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म गल्छी–मास्टारबाट परेवाटार हुँदै धादिङबेंसीतर्फ गुड्ने गाडी सञ्चालन हुनेछन् । धादिङबेंसीतर्फ गुड्ने गाडीले दिउँसो १२ बजेभित्र मास्टारको पुल पार गरिसक्नुपर्नेछ ।

यसैगरी, दिउँसो १ देखि बेलुका ७ बजेसम्म धादिङबेंसीबाट परेवाटार हुँदै मास्टार–गल्छीतर्फ गुड्ने गाडी सञ्चालन हुनेछन् । गल्छीतर्फ गुड्ने गाडी बेलुका ७ बजेभित्र परेवाटार पार गरिसक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्