Logo
Logo

पृथ्वी राजमार्ग खुलाउन नेपाली सेना धमाधम ब्लास्टिङ गर्दै


126
Shares

काठमाडौं । रसुवा बाढीका कारण त्रिशूली नदीले सडक कटान गर्दा भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको सितल बजार सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सडक खोल्ने काम अघि बढाएको छ ।

The current image has no alternative text. The file name is: nepali-cena.jpg

सडक भासिएको स्थानमा तत्काल पर्खाल निर्माण गरी सडक पुनः सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य पृतना अन्तर्गत कालीप्रसाद गणको इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अघि बढाइएको हो । सडकको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम गरिरहेको हो । 

भाद्र १० गते रसुवा क्षेत्रमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीको बहाव बढ्दा नदीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान गरेको थियो । कटानका कारण सितल बजारसहित धादिङको कृष्णभीर, परेवा भीरलगायतका क्षेत्रमा सडक भासिएपछि काठमाडौं–चितवन तथा काठमाडौं–पोखरा आवागमनमा समेत गम्भीर असर परेको छ । क्षतिग्रस्त सडकको अवस्था र भौगोलिक जोखिमलाई ध्यानमा राख्दै ब्लास्टिङमार्फत सडकको नयाँ संरचना तयार गर्ने काम थालिएको हो ।

राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन लामो समयसम्म बाटोमै रोकिने, दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुने तथा यात्रुले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था रहेको छ ।

बाढीले सडक कटान गर्नुका साथै राजमार्गका विभिन्न ठाउँमा पहिरो र सडक भासिने समस्या निम्त्याएको छ । सडक खुलाउन डोजर तथा अन्य निर्माण उपकरण परिचालन भइरहेका छन् भने जोखिमयुक्त स्थानमा प्राविधिक अध्ययनसहित  वैकल्पिक सडक तथा अस्थायी मार्ग निर्माणको काम पनि अघि बढाइएको छ ।

आयोजनाका अनुसार क्षतिग्रस्त सडकलाई सकेसम्म छिटो सञ्चालनमा ल्याउन नेपाली सेना, सडक विभाग तथा निर्माणसम्बद्ध प्राविधिक टोलीबीच समन्वय गरेर काम भइरहेको छ । ब्लास्टिङपछि सडकको सतह व्यवस्थापन, आवश्यक संरचना निर्माण तथा यातायात सञ्चालनका लागि थप काम गरिने छ । रसुवा बाढीपछि त्रिशूली नदीमा आएको तीव्र बहावले नुवाकोट र धादिङ हुँदै काठमाडौं जोड्ने सडक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ । 

प्रतिक्रिया दिनुहोस्