Logo
Logo

विपद्‍मा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी सरकारले लिन्छ : मन्त्री वादी


252
Shares

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भोटेकोशी विपद्का कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने बताएकी छन् ।

The current image has no alternative text. The file name is: sita-badi.jpg

राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले भोटेकोशी बाढीबाट धेरै परिवार प्रभावित भएको र कतिपय बालबालिकाले आफ्ना प्रियजन गुमाउनुका साथै घाइते भएर उपचाररत रहेको बताएकी हुन् ।

परिवारबाट छुट्टिएका तथा संरक्षणको पर्खाइमा रहेका बालबालिकाको उद्धार, संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग र परिवारसँग पुनर्मिलनलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ ।

मन्त्री वादीले अभिभावक गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको संरक्षण गर्नु सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्रालयले उक्त जिम्मेवारी संवेदनशीलता र प्रतिवद्धताका साथ पूरा गर्ने बताइन् ।

उनकाअनुसार ललितपुरको गोदावरी नगरपालिका–थेचोमा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

केन्द्रमार्फत आवास, खानपिन, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, परिवारको खोजी तथा पारिवारिक पुनर्मिलनलगायत सेवा उपलब्ध गराइनेछ ।साथै बालबालिकाको दीर्घकालीन संरक्षण आवश्यकताको पहिचान गरी उपयुक्त व्यवस्था गरिने उनले बताइन ।बाढी प्रभावित क्षेत्र तथा होल्डिङ सेन्टरमा रहेका बालबालिकाको गोपनीयता, मर्यादा र सुरक्षालाई प्राथमिकता दिइएको मन्त्री वादीले बताइन् ।

प्रभावित जिल्लाका स्थानीय तह तथा बालबालिका राखिएका स्थानमा उनीहरूको अवस्था, पहिचान, विस्तृत लेखाजोखा र आवश्यक संरक्षण सेवाका लागि सहजीकरण टोली परिचालन गरिएको पनि उनले जानकारी दिइन् ।

विपद्मा आमाबुवा गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि सरकारले दीर्घकालीन स्याहार योजना कार्यक्रम कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै मन्त्री वादीले कुनै पनि बालबालिकाले आफूलाई एक्लो र असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले बालबालिकालाई हिंसा, दुर्व्यवहार, शोषण, बेचबिखन तथा असुरक्षाबाट जोगाउनु सरकार मात्र नभई अभिभावक, विद्यालय, समुदाय, सञ्चारमाध्यम, नागरिक समाज, निजी क्षेत्र तथा बाल अधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्थाको साझा दायित्व भएको बताइन् ।

मन्त्री वादीले भनेकी छन्, ‘यस वर्ष भोटेकोशी बाढीका कारण हामी पीडादायी परिस्थितिमा यो दिवस मनाइरहेका छौँ । बाढी तथा विपद्का कारण ज्यान गुमाउनुभएका बालबालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा घाइते बालबालिकाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु । बालबालिका राष्ट्रका भविष्य हुन् । विपद्मा अभिभावक गुमाएका, परिवारबाट छुट्टिएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको उद्धार, उपचार, मनोसामाजिक सहयोग, परिवार खोजी तथा पुनर्मिलनका लागि सरकार उच्च प्राथमिकताका साथ कार्यरत छ । त्यस्ता बालबालिकाको दीर्घकालीन संरक्षणको जिम्मेवारी सरकारले लिनेछ ।’

‘बालपनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने यस वर्षको राष्ट्रिय बाल दिवसको नारालाई व्यवहारमा कार्यान्वयन गर्न सबै पक्षले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्