काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि हुने बताएका छन् ।राष्ट्रिय बाल दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकाको सुख, समृद्धि, सुस्वास्थ्य, सफलता र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।

यस वर्ष ‘बालापनको रक्षा स् भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल दिवस मनाइँदै छ। प्रधानमन्त्री शाहले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्रै राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिने बताएका छन् ।
उनले बालअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, सञ्चार क्षेत्र तथा सम्पूर्ण सरोकारवालाप्रति सम्मान व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिले सुनिश्चित गरेका अधिकारलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा व्यवहारमै अनुभूति गराउनु अबको मुख्य प्राथमिकता हुनुपर्ने बताएका छन् ।
यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र जिम्मेवारी आवश्यक रहेको उनको भनाइ छ। स्थानीय तहले बालबालिकाको नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह र बालमैत्री वातावरण निर्माणमा विशेष भूमिका निर्वाह गर्नुपर्ने उनले बताएका छन् ।















