काठमाडौं । बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय रहँदै आएको आर्या फार्मा ल्याब प्रालिले नुवाकोटका बाढी प्रभावित नागरिकलाई लक्षित गरी सातदिने निःशुल्क सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। प्रभावित समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कम्पनीले चितवन मेडिकल कलेजसँग सहकार्य गरेको हो।

आर्या फार्मा ल्याब र चितवन मेडिकल कलेजबीचको सहकार्यमा विदुर नगरपालिकाका बाढी प्रभावित नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। शिविर विदुर नगरपालिका–७ स्थित सलोचना स्कुल, वडा नं. ५ स्थित त्रिशूली विद्यालय र वडा नं. ९ स्थित भैरवडाँडामा सञ्चालन गर्ने योजना रहेको छ।
शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श, आवश्यक औषधि वितरण र विभिन्न रोगको परीक्षण सेवा निःशुल्क उपलब्ध गराइनेछ। परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका बिरामीको पहिचान गरी सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था समेत मिलाइने कम्पनीले जनाएको छ।
बाढीपछि प्रभावित परिवारले स्वास्थ्य संस्थासम्म पुग्न आर्थिक तथा व्यवहारिक कठिनाइ भोगिरहेको अवस्थालाई ध्यानमा राख्दै समुदायमै पुगेर सेवा दिन लागिएको आर्या फार्मा ल्याबले जनाएको छ। विपद्का कारण स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले समयमै स्वास्थ्य परीक्षण र उपचारको पहुँच विस्तार गर्नु शिविरको मुख्य उद्देश्य रहेको कम्पनीको भनाइ छ।
यसअघि आर्या फार्मा ल्याबले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री सहयोग गरेको थियो। औषधिजन्य सामग्री सहयोगपछि प्रभावित बस्तीमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो।
कम्पनीका अनुसार राहत सामग्री उपलब्ध गराउनेदेखि प्रभावित समुदायमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्नेसम्मका कार्यक्रममार्फत विपद्को कठिन समयमा प्रभावित परिवारसँगै उभिने प्रतिबद्धतालाई निरन्तरता दिइएको छ।















