Logo
Logo

नेपाल विदेशीहरुको खेलमैदान बन्ने खतरा बढ्यो : माधव नेपाल


252
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठूलो संकटबाट गुज्रिरहेको टिप्पणी गरेका छन् । शुक्रवार अखिल नेपाल किसान महासंघको केन्द्रिय समितिको पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै उनले नेपाल कतै विदेशीहरुको खेलमैदान त बन्ने होइन ? भन्दै चिन्ता व्यक्त गरे ।

उनले नेपालजस्तो भूपरिवेष्टित मुलुकले दुई ठूला छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्दै राष्ट्रिय स्वाभिमान र सम्मानको रक्षा गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्ने बताए । सहसंयोजक नेपालले मुलुकको राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र संविधान निर्माणमा आफूहरुको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै संघीयताको रक्षा गर्ने जिम्मेवारी पनि आफूहरुकै काँधमा पुगेको जिकिर गरे ।

गणतन्त्र, संविधान र संघीयता संरक्षण र सुदृढीकरणका सबै पक्षको सहयोग आवश्यक रहेको पनि बताए । उनले नेपाल राष्ट्रिय राजनीतिमा नेकपाको महत्वपूर्ण रहेको पनि बताए । उनले लोकतन्त्र, गणतन्त्र र संविधान र संघीयताको संरक्षणका लागि विचार मिल्ने तथा लोकतन्त्रका लडेका पार्टीहरु एक भएर अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘अहिले हाम्रो देश ठूलो संकटमा छ । विदेशीहरुको चलखेल चलिरहेको छ । राष्ट्रियता संकटमा छ । हाम्रो देश कतै विदेशीहरुको खेलमैदान त बन्ने होइन ? यो हामीलाई चिन्ता छ । नेपालजस्तो भूपरिवेष्टित देश, दुई ठूला देशको बिचमा अवस्थित यो देश कसरी शान्तीपूर्ण ढंगले बाँच्ने, कसरी छिमेकीहरुसँग सुमधुर सम्बन्ध बनाउने र नेपालको स्वाभिमानको रक्षा कसरी गर्ने, नेपालको सम्मान कसरी अगाडि बढाउने भन्ने भावनाबाट हामी अगाडि बढ्नुपर्ने र त्यसमा कसैले समस्या खडा गर्न खोज्छन् भने, चुनौती दिन खोज्छन् भने सामना गर्ने आँट हामीले गर्नुपर्छ । त्यसो भएको हुनाले चाहे राष्ट्रियताको विषय होस्, चाहे लोकतन्त्रको विषय होस्, चाहे गणतन्त्रको विषय होस् । वा संविधानको विषय होस् । यी सबै विषयमा पनि अत्यन्तै गम्भीर हुनुपर्छ । गणतन्त्र हामीले ल्याएका छौँ । संविधान बनाउन हामीले पहल गरेका छौँ । संघीयता हामीले ल्याएका छौँ, त्यसो भएको हुनाले संघीयताको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो । आमाको काम छोराछोरीलाई जन्माउने मात्र होइन, हुर्काउने पनि हो । उनीहरुलाई राम्रो बनाउने पनि हो । योग्य बनाउने पनि हो । सक्षम बनाउने पनि हो । यो सबै जिम्मेवारी पूरा गर्न तपाईंहरुको सहयोग चाहिन्छ ।’

प्रतिक्रिया दिनुहोस्