Logo
Logo

वालेनको टिम ‘ब्रान्डिङ’ को आफ्नै पारा


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह सामाजिक सञ्जालबाट ‘ब्रान्डिङ’ भएका पात्र हुन् । उनले जे लेख्छन्, सञ्जालमा त्यसको चर्चा परिचर्चा अधि हुन्छ । भारत भ्रमणबाट फर्किएपछि बालेनले आफूसहित अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिखिर खनालको फोटो पोस्ट गर्दै ‘देश उभो लगाउने टोली’ भनेर स्ट्याटस लेखेपछि अहिले सामाजिक सञ्जालमा त्यसैको चर्चा परिचर्चा बढेको छ । सोही फोटो सोमबार राती भारतबाट फर्कदै गर्दा अर्थमन्त्री वाग्लेले पोस्ट गरेका थिए ।

उनले लेखेका थिए, ‘सम्बन्धको नया उचाई, अत्यन्तै उपलब्धी मुलक र दुरगामी महत्व बोकेको प्रधानमन्त्री बालेन शाहको पहिलो द्धिपक्षीय राजकीय भ्रमणको सफल समापन गरी भातरबाट आज साझ स्वदेश फर्केका छौ ।’

त्यही फोटोलाई सञ्जालमा पुन पोस्ट गरेर प्रधानमन्त्रीले आफू सहित तीन जनालाई विशेष टिमका रुपमा प्रस्तुत गरेका छन् । यसअघि गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालसँगको कालो चस्मा लगाएको फोटो पोस्ट गर्दै उनले ‘देश बनाउने टोली’ लेखेका थिए । जसको चौतर्फी चर्चा भएको थियो । फरक समयमा सार्वजनिक गरिएका यी तस्बिरले प्रधानमन्त्री शाहको नेतृत्व शैली र सरकारको राजनीतिक ब्रान्डिङको नया शैली बहसमा छ ।

बालेनले पहिलोपटक सार्वजनिक गरेको तस्बिरमा उनी दुई मन्त्रीसँगै देखिएका थिए । तस्बिरमा प्रधानमन्त्री, गृहमन्त्री र पूर्वाधारमन्त्रीको पहिचान खुलाउँदै उनले ‘देश बनाउने टोली’ भन्ने सन्देश दिएका थिए । त्यसबेला प्रधानमन्त्रीले सरकारका मन्त्रीलाई औपचारिक जिम्मेवारीमा रहेका पदाधिकारीभन्दा आफ्नो नेतृत्वको कार्यकारी टिमका सदस्यका रूपमा प्रस्तुत गर्न खोजेको अर्थमा त्यसको चर्चा भएको थियो ।

अहिले स्वर्णिम वाग्ले र शिशिर खनालसँगको तस्बिर सार्वजनिक गरेर उनले त्यो भाष्यलाई थप विस्तार गरेका छन् । पहिलो तस्बिरमा आन्तरिक सुरक्षा र भौतिक पूर्वाधारसँग सम्बन्धित मन्त्री थिए । पछिल्लो तस्बिरमा अर्थतन्त्र र परराष्ट्र सम्बन्धको जिम्मेवारी सम्हालेका मन्त्री छन् । यी चार मन्त्रालय सरकार सञ्चालनका महत्त्वपूर्ण आधार हुन् ।

त्यसैले मन्त्रीहरूको छनोटलाई केवल संयोगका रूपमा मात्र हेर्ने कि यसको अर्थ पनि खोज्ने ? राजनीतिक वृत्तमा प्रश्नहरु उठेका छन् । जानकारहरु भन्छन्, सामाजिक सञ्जालबाट ब्रान्डिङ भएका बालेनको विश्वास यसमै छ । उनको भारत भ्रमणले केही सकारात्मक सन्देश दिएको अवसरमा यो थप ब्रान्डिङ गर्ने अभिप्राय हो । बालेनले सामाजिक सञ्जालको लोकप्रियता र आफ्नो व्यक्तिगत राजनीतिक छविलाई उपयोग गर्दै केही मन्त्रीलाई अगाडि राखेर सरकारको अलग पहिचान निर्माण गर्न खोजेको देखिन्छ । यसले सरकारलाई एउटा निश्चित कार्यदिशा र नेतृत्वको साझा उद्देश्य भएको टिमका रूपमा बुझाउन खोजेको संकेत गर्छ ।

बालेनको राजनीतिक शैलीमा सामाजिक सञ्जाल सुरुदेखि नै महत्त्वपूर्ण माध्यम रहँदै आएको छ । काठमाडौं महानगरपालिकाको नेतृत्व गर्दा पनि उनले फेसबुकमार्फत आफ्ना निर्णय, असन्तुष्टि र कार्ययोजनालाई सार्वजनिक बहसमा ल्याउँथे । प्रधानमन्त्री भएपछि पनि उनले यही शैलीलाई निरन्तरता दिएका छन् । सरकारी निर्णय र सार्वजनिक सरोकारका विषयमा औपचारिक सरकारी सञ्चारमाध्यमभन्दा व्यक्तिगत सामाजिक सञ्जालबाट सन्देश दिने उनको अभ्यासले सरकारको सञ्चार शैलीबारे पनि प्रश्न उठाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000