Logo
Logo

प्रचण्डको आरोप- अमेरिकी दलालहरूले पुराना दलले केही गरेनन् भन्ने भ्रम फैलाए

आफूले गरेका राम्रा कामको प्रचार गर्न नेता–कार्यकर्तालाई निर्देशन


315
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साम्राज्यवादी अमेरिकी दलालहरुले पुराना राजनीतिक दल र नेताहरूले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पार्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रिय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालका अल्गोरिदममार्फत पुराना दल र नेताहरूले गरेका कामबारे गलत धारणा निर्माण गरिएको भन्दै आपत्ति जनाए ।

उनले मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर, मदन भण्डारी राजमार्ग र हुलाकी मार्ग निर्माण तथा विस्तारका निर्णय पुराना राजनीतिक नेतृत्वकै पालामा भएको दाबी गरे । संयोजक दाहालले ऊर्जा क्षेत्रमा समेत महत्वपूर्ण काम भएको जिकिर गरे । उनले नेपालमा ऊर्जा क्रान्तिको आवश्यकता औँल्याउँदै विद्युत उत्पादन र निर्यातको अवधारणा अघि बढाउने तथा लोडसेडिङ अन्त्य गर्ने कार्य आफ्नै पालमा भएको दाबी पनि गरे ।

उनले भने, ‘अहिले साम्राज्यवादी अमेरिकी दलालहरुले भन्ने गरेका छन्, पुराना पार्टी र नेताहरुले केही पनि गरेनन् ३५ वर्षमा भनेर सबै बिगार्ने काम मात्र गरे भनेर एउटा भाष्य बनाएको छ र जनताको दिमागमा अल्गोरिदममार्फत यस्तो म्यानिपुलेसन र षड्यन्त्र गरेका छन् कि हामीले एउटै राम्रो काम गरेनौँ जस्तो । मध्यपाहाडी लोकमार्ग निर्माण गर्ने निर्णय कसले गरायो । उत्तरदक्षिण करिडोर कसले बनाउने निर्णय गर्यो ? मदन भण्डारी राजमार्ग बनाउने कुरा कसले गरायो ? तराईमा हुलाकी मार्गलाई अगाडि बढाउने काम कसले गर्यो ? अघि एउटा कमरेडले हामीले उर्जामा केही पनि गरेनौँ भन्नुभयो । गर्नुपर्ने उर्जामा हो । उर्जा हाम्रो लागि ठूलो सम्पती हो भनेर नै देशभित्र उर्जा क्रान्ती गर्नुपर्छ कसले भन्यो ? १० हजार मेगावाटको विद्युत् निर्यातको कुरा मात्र होइन, नेपालमा लोडसेडिङ अन्त्य कसले गर्यो ?’

उनले पुराना तथा स्थापित राजनीतिक दलहरुको योगदानलाई बेवास्ता गर्न नहुने भन्दै आफूले गरेका कामहरु प्रचारप्रसारमा लाग्न समेत नेता कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्