Logo
Logo

पाँच वर्षको कारोबार विवरण बुझाउन २५ म्यानपावर कम्पनीलाई ताकेता


126
Shares

काठमाडौं । वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा मुख्य कम्पनीका रूपमा रहेका २५ म्यानपावर कम्पनीलाई पछिल्ला पाँच आर्थिक वर्षको आर्थिक कारोबार सहित सम्पूर्ण व्यावसायिक तथा वित्तीय विवरण बुझाउन निर्देशन दिएको छ ।

मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावर कम्पनीलाई मुख्य तथा अन्यलाई सबएजेन्टका रूपमा राखिएको विषयमा विवाद भइरहेका बेला विभागले एफडब्लूसीएमएसमा मुख्य कम्पनीका रूपमा रहेका २५ म्यानपावरसँग कारोबारकोे विस्तृत विवरण मागेको हो ।

विभागले वैदेशिक रोजगार ऐन २०६४ को दफा ३४ बमोजिम २५ वटै संस्थालाई पत्र पठाउँदै व्यावसायिक तथा वित्तीय विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । उक्त दफाले विभागलाई इजाजतपत्रवालाको कार्यालयमा निरीक्षण गरी वैदेशिक रोजगार सम्बन्धी अभिलेख तथा कागजात जाँच गर्न र आवश्यक विवरण माग गर्न सक्ने अधिकार दिएको छ ।

त्यस्तै ऐनको दफा ८० तथा वैदेशिक रोजगार नियमावली २०६४ को नियम ५० र ५१ बमोजिम कामदार सम्बन्धी अभिलेख, वार्षिक रूपमा पठाइएका कामदार संख्या, पूर्वस्वीकृति, श्रम स्वीकृति, शाखा, प्रतिनिधि तथा सेवा शुल्क, प्रवद्र्धन खर्च लगायत विवरण पनि विभागले मागेको छ ।

विभागले आव २०७८/७९ देखि २०८२/८३ सम्म पाँच आर्थिक वर्ष र चालु आव २०८३/८४ हालसम्मको विवरण मागेको हो । उक्त विवरण संस्थाको सञ्चालकबाट प्रमाणित गरी पत्र प्राप्त भएको मितिले १५ दिनभित्र विभागमा बुझाउन तथा विद्युतीय मेलमार्फत समेत पठाउन भनिएको छ ।

विभागले वैदेशिक रोजगार व्यवसायबाट प्राप्त कुल आम्दानी, श्रमिकबाट लिइएको सेवा शुल्क, प्रवद्र्धक, एजेन्ट वा प्रतिनिधिलाई गरिएको भुक्तानी, प्रशासनिक तथा कर्मचारी खर्च, कार्यालय तथा शाखा सञ्चालन खर्च लगायत विवरण खोजेको छ ।

त्यस्तै विदेशी एजेन्ट वा साझेदारसँग भएको प्राप्ति तथा भुक्तानी कारोबार, वैदेशिक रोजगार व्यवसायसँग सम्बन्धित ठूला वित्तीय कारोबार, आयकर तथा भ्याटसम्बन्धी दर्ता, विवरण दाखिला, कर दायित्व तथा कर चुक्ताको अवस्था सहित सम्बन्धित आर्थिक वर्षको लेखा परीक्षण भएको वित्तीय विवरण र लेखा परीक्षण प्रतिवेदन समेत बुझाउन भनिएको छ ।

शाखा, प्रतिनिधि तथा एजेन्ट सम्बन्धी विवरण र उनीहरूसँग भएको कारोबार, श्रमिक सम्बन्धी बाँकी दायित्व, फिर्ता रकम, क्षतिपूर्ति तथा विचाराधीन वित्तीय दाबी वा विवाद र वैदेशिक रोजगार व्यवसायसँग सम्बन्धित अन्य महत्त्वपूर्ण व्यावसायिक तथा वित्तीय कारोबार विवरण समेत विभागले मागेको छ ।

विभागका महानिर्देशक नवराज ढकालका अनुसार म्यानपावर कम्पनीले विभागमा उपलब्ध गराउने विवरण अद्यावधिक गर्ने क्रममा २५ कम्पनीसँग छुटेका विवरण माग गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्