Logo
Logo

२२ लाख धरौटी बुझाउन नसकेपछि किस्पाङ गाउँपालिका अध्यक्ष कारागार चलान


0
Shares

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई बैंकिङ कसुर मुद्दामा २२ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।

काठमाडौँ जिल्ला अदालतले तामाङविरुद्धका दुईवटा बैंकिङ कसुर मुद्दामा क्रमशः १६ लाख र ६ लाख रुपैयाँ, गरी २२ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको थियो। तोकिएको रकम बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको हो। तामाङलाई केही दिनअघि प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग गरेको छलफलमा सहभागी भएर सिंहदरबारबाट बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीका अनुसार तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी १० वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दा काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा रहेको बताइएको छ। यसअघि तीमध्ये एउटा बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर अन्य मुद्दामा अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको थियो।

हाल २२ लाख रुपैयाँ धरौटी तोकिएका दुई मुद्दामा रकम दाखिला गर्न नसकेपछि तामाङलाई सुन्धारा कारागार पठाइएको हो।

प्रतिक्रिया दिनुहोस्